२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

महान फुटबलर म्याराडोनाको निधन


झापा, मंसिर ११ । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हृदयघातका कारण बुधबार अर्जेन्टिनामा निधन भएको छ ।

६० वर्षीय म्याराडोनाको स्वास्थ्य केही समयदेखि जटिल रहेको थियो । उनी दुई साताअघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाइन छाडेका थिए ।

अर्जेन्टिनाका पूर्वप्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । अर्जेन्टिनालाई फुटबल विश्वकप जिताउन भूमिका खेलेका म्याराडोनाले अर्जेन्टिनाबाट ९१ खेल खेल्दै उनले ३४ गोल गरेका थिए । उनले अर्जेन्टिनाबाट चारवटा विश्वकपमा सहभागिता समेत जनाएका थिए ।

म्याराडोनाले आफ्नो फुटबल करियरमा बार्सिलोना र नापोलीबाट क्लब फुटबल खेलेका थिए । उनलाई विश्व फुटबलका ’द गोल्डेन ब्वाइ’ उपनामले समेत चिनिन्थ्यो । सन् १९८६ विश्वकपमा उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३–२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।

त्यही विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । दुवै गोल उनले गरेका थिए । इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई ’ह्यान्ड अफ गड’ भन्ने गरिन्छ । उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।

अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए । सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए । अर्जेन्टिनोस जुनियर्सबाट व्यावसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए ।

त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् १९८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए । १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए । उनले क्लब फुटबलको अन्त्य साम १९९७ मा बोका जुनियर्सबाट गरेका थिए ।

तर, म्यारोडोना करिअरको अन्त्यतिर भने लागुऔषधको दुव्र्यसनमा फसेका थिए । लागुऔषध प्रयोगकै कारण उनी पटकपटक जेल समेत परे । उनी कोकिन सेवन गर्ने गर्थे । सन् १९९१ मा उनले १५ महिनाको प्रतिबन्ध समेत भोगेका थिए ।

म्यारोडोना लागुऔषध दुव्र्यसनबाट मुक्त हुनका लागि क्युवाको रिह्याब सेन्टरमा समेत बसेका थिए । क्युवामा ४ वर्ष रहँदा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोसँग निकै नजिक भएका थिए । उनलाई क्युवामा निकै सम्मान दिइएको थियो । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer