२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली राजनीतिमा आज देखिने ४ दृश्य


आइतबारदेखि गर्माएको नेपाली राजनीतिको तापक्रम सोमबार घट्नेछैन। नेकपाका दुवै गुटले आ-आफ्नो रणनीति बनाउन केन्द्रीय स्तरका नेताहरुसँगको भेटघाट सोमबारका लागि तय गरेका छन्। दुवै पक्षले एकअर्का विरुद्ध थप ठोस कदम चाल्ने देखिएको छ।

ओली पक्षको भेला:  प्रतिनिधि सभा विघटनबारे ब्रिफिङ
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको आफूपक्षीय नेताहरूको भेलामा प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्थाका विषयमा ब्रिफिङ गरिने बुझिएको छ। 

उक्त विषयलाई जनतासम्म लैजाने रणनीति तय हुनेछ। पार्टी फुट्ने तहसम्म पुगेकाले नयाँ पार्टी बनाउनु पर्ने अवस्थाका विषयमा समेत छलफल चल्नेछ। उक्त भेलामा ओलीपक्षीय मन्त्री, राष्ट्रिय सभाका सांसद्,  विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ।

प्रचण्ड-माधव समूह संसदीय दलको नेता फेर्दै
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएका छन्। बैठकमा ओली पक्ष अनुपस्थित रहने निश्चित जस्तै छ। उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्न सक्ने बुझिएको छ।

उक्त बैठकमा ओलीविरुद्ध सम्भावित रणनीति पनि तय हुनेछन्। त्यो भेलापछि यो गुटको स्थायी कमिटी बैठक बस्नेछ। उक्त बैठकले मंगलबार बोलाइएको केन्द्रीय समितिको बैठक र त्यसमा पेश हुने थप एजेन्डा तय गर्नेछ।

अदालतमा रिट दर्ता हुँदै
प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पुगेका छन्। सोमबार ती रिट दर्ता हुने नहुने टुंगो लाग्नेछ। रिट निवेदन दर्ता हुने र सर्वोच्चले यस विषयमा ठोस व्याख्या गर्ने धेरैको अनुमान छ।

सोमबार रिट निवेदन दर्ता भएमा मंगलबार सुनुवाइ सुरु हुनेछ। प्रधानमन्त्री  ओलीको उक्त कदममाथि अदालतले ब्रेक लगाउन अनुमान र आशा एकथरिले गरिरहेका छन्। 

प्रचण्ड-माधव गुट, काँग्रेस र जसपा एकसाथ 
सोमबार नेकपाको प्रचण्ड-माधव गुट, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले संयुक्त बैठक गर्दैछन्। संसद विघटनविरुद्ध तीन दलले संयुक्त धारणा तय गर्न सोमबार बैठक बोलाएका हुन्। आइतबार यी तीनको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो।

संसद विघटन गर्ने घटनाले मुलुकलाई गम्भीर संकटतिर धकेलेको भन्दै सशक्त रुपमा प्रतिवाद गर्न सोमबार साझा धारणा बनाउने निर्णय यसअघि नै गरिसकेका छन्। -नेपाल लाइभबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer