२०७८ बैशाख ८ बुधबार
Jhapa Today
Adv top

उधौली उत्सव; चासोक तङनाम


–हिमाल खरेल

पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरु उँधो झर्ने चलन थियो । मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरु उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएको सांस्कृतिक परम्परा छ ।

लिम्बू जातिको यो महान् चाडको उल्लास आजबाट सुरु भएको छ । पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ । प्रकृति पुजक आदिवासी लिम्बू जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गरिन्छ । यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् ।

लिम्बू संस्कृतिअनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजाअर्चना गरेपछि चासोक तङनाम सुरु भएको मानिन्छ । नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ । चासोक तङनामलाई लिम्बू जातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ ।

पूर्वी नेपालका विभिन्न ठाउँमा चासोक तङनामको रमझममा लिम्बू युवायुवतीको पनि बाक्लो जमघट सुरु हुन्छ । किरात मुन्धुमअनुसार वर्षलाई दुई भागमा बाँडेर पर्व मनाइने गरिएको छ । वैशाखे पूर्णिमादेखि मङ्सिर पूर्णिमासम्म उभौली पर्व र मङ्सिरे पूर्णिमादेखि वैशाख पूर्णिमासम्म उधौली पर्व भनिन्छ । उभौली पर्वमा तराईतिर गर्मी बढेर माछा, चराचुरुङ्गी समेतले उँभो लेकतिर बासस्थान सार्ने भएकाले पनि उभौली भनिएको व्यावहारिक भनाइ लिम्बू जातिमा रहँदै आएको छ ।

त्यस्तै, उधौलीका समय लेक वा पहाडतिरको वातावरण चिसो हुने हुँदा त्यहाँका चराचुरुङ्गी मधेसतिर झर्ने गर्छन् । मौसमअनुसार पर्व मनाउने जाति लिम्बू समुदायले प्रकृतिको पूजा गरेर आफ्नो दिनचर्या सम्पन्न गर्ने गर्छन् ।

युवा पुस्तामा आफ्नो मौलिक चाड पर्व र सांस्कृतिक मूल्य मान्यताबारे आकर्षण गराउन साताव्यापी रुपमा यो चाड मनाइन्छ । प्रकृतिपुजक लिम्बू जातिको पौराणिक मुन्धुममा आधारित चासोक तङनामको अवसरमा सांस्कृतिक माहोल फेरि एकपटक तातेको छ । चासोक तङनाम भनेको सर्वशक्तिमान मानिएको तागेरा निङवा फुमाङ (प्रकृति)ले दिएको अन्नबाली आफूले सेवन गर्नुभन्दा पहिले प्रकृतिलाई नै अर्पण गर्दै आभार व्यक्त गरेपछि खाने उत्सव हो ।

दुई दशकअघिसम्म चासोक तङनाम लिम्बू जातिले येवा फेदाङवाको पर्याप्तताअनुसार निजी रुपमा मनाउने गर्थे । तर, आधुनिकतासँगै यो चाडलाई समूहमा मनाउन थालिएपछि महत्व झन् बढ्दै गएको छ । धार्मिक ग्रन्थ मुन्धुमका अनुसार कृषियुग सुरु हुनुअघि लिम्बूजातिका पूर्खा सावायेत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे । काँचो कन्दमुल सेवनका कारण उनीहरु कुपोषण र अन्य रोगको सिकार भए ।

यस्तो जटिल परिस्थितिबाट मुक्ति पाउन उनीहरुले तागेरा निङवा फुमाङको पूजा आराधाना गर्दै रोगव्याधिबाट मुक्ति पाउन अनेक उपायको खोजी गरे । निरन्तर खाजी गर्ने क्रममा उनीहरुले प्रकृतिको कृपाबाट पेना माङदक (कोदो), ताक्मा (घैया धान), पारामा (कोदोसँगै फल्ने विरुवा), तुम्री (जुनेलो), साङघामा, लिङघामा र लङवामा लगायत अन्नका बीऊबिजन प्राप्त भएको थियो । यो पर्व कृषिकर्मसँग सम्बन्धित छ । बाली भित्र्याउने बेलामा मनाइने यो पर्वले लिम्बू जातिमा विशेष महत्व राख्दछ ।

पर्वको अवसरमा लिम्बू युवा सांस्कृतिक पोसाकमा सजिएर साइनो नलाग्नेहरुबीच धाननाच नाच्न व्यस्त हुन्छन् । धाननाच समूहमा नाचिने नाच हो । नाचमा च्याब्रुङको अनिवार्य आवश्यकता पर्दछ । जहाँ लिम्बू जातिको बसोबास छ, त्यस क्षेत्रमा साता दिनसम्म नै लिम्बू भेषभुषामा सजिएका के युवा के बृद्ध, अझ भर्खरका केटाकेटी पनि ठूलाजस्तै धान नाच्न हौसिएका हुन्छन् । धाननाचसँगै के लाङ (च्याब्रुङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाक थाक्मा (तान बुन्ने), लि आप्मा (गुलेली हान्ने ) प्रतियोगिता पनि उधौलीको अवसरमा गरिन्छ ।

आफ्नो भाषा, रीतिरिवाज, संस्कार–संस्कृति र धर्मकर्मलाई निरन्तरता दिने क्रममा उधौली पर्वको महत्व र चर्चा झन् बढ्दै गइरहेको छ । पूर्वमा धाननाचको महत्व प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । धरान, धनकुटा, तेह्रथुम, इलाम, फिदिम, ताप्लेजुङ, बिर्तामोड, पाडाजुँगी, शान्तिनगर, मेचीनगर, बाहुनडाँगी, भद्रपुर आदि स्थानमा किरात–लिम्बू संघसंस्थाको अगुवाइमा उधौली पर्व सम्पन्न हुने गरेका छन् ।

हाक्पारे साम्लो, ख्याली (लिम्बू समुदायले गाउने दोहारी जस्तै एक प्रकारको गीत) गाउँदै एक अर्कामा मायापिरतीका कुरा शब्दमार्फत् व्यक्त गर्ने चलन छ । युवायुवतीबीच एकअर्कामा मनपरापर भएमा बिहे समेत गर्ने सांस्कृतिक प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*