२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्पोर्टस अवार्डलाई रुस्लान फुटबलको प्रायोजन


काठमाडौँ, पुस २३ । १७ औँ संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्डष्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार स्पोर्टस अवार्डमा रुस्लान फुटबल सह–प्रयोजकको रुपमा रहनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै इन्डष्ट्रिजका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।

उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए । स्पोर्टस अवार्डसँग रुस्लानको यो पाँचौँ वर्ष हो ।

आयोजक संस्था मञ्चका अध्यक्ष सुवेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी पुस २८ गते आयोजना हुँदैछ । आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

पिपल्स च्वाइस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनित छन् ।

वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा छन् ।

वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्डका अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’ को रूपमा प्रदान गरिँदैछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer