२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रेफ्री चौधरीलाई एन्फा झापाद्वारा राहत प्रदान


अर्जुनधारा, पुस २५ । साधारणसभाको अवसर पारेर झापा जिल्ला फुटबल संघले बाढीपीडित एकजना रेफ्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

साधारणसभामा बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित रेफ्री चौधरीलाई दुई लाख ६५ हजार रुपैयाँ बराबरको राहत रकम प्रदान गरिएको छ ।

सो राहत रकममध्ये रेफ्री संघबाट ९२ हजार रुपैयाँ, संघमा आवद्ध १९ वटा फुटबल क्लबबाट ५७ हजार रुपैयाँ, नेपाल फुटबल रेफ्री समितिबाट ५० हजार रुपैयाँ, एन्फाबाट २५ हजार रुपैयाँ, एन्फा प्रदेश नम्बर १ बाट ११ हजार रुपैयाँ, झापा जिल्ला फुटबल संघबाट १० हजार रुपैयाँ, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र संघका उपाध्यक्ष मनेष दाहालबाट जनही १०–१० हजार रुपैयाँ प्रदान भएको थियो ।

शुक्रबार सम्पन्न संघको सातौँ साधारणसभामा संघका अध्यक्ष भगिरथ आले मामाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्रमणि लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्ष ०७६÷०७७ को जम्मा आम्दानी छ लाख चार हजार ३१२ रुपैयाँ ९५ पैसा र जम्मा खर्च पाँच लाख ७२ हजार ७०९ रुपैयाँ २८ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी, संघले चालु आर्थिक वर्ष ०७७÷०७८ को लागि अनुमानित २३ लाख ७८ हजार पाँच सय रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । प्रस्तावित बजेट कार्यान्वयन गर्न आन्तरिक स्रोतबाट १८ लाख तीन हजार पाँच सय रुपैयाँ र एन्फाबाट पाँच लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संघले सार्वजनिक गरेको वार्षिक कार्यक्रमहरुमा एन्फा प्रेसिडेन्ट झापा जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता (संघमा आबद्ध क्लबबीच), अन्तर माध्यमिक पुरुष र महिला फुटबल प्रतियोगिता, अन्तरपालिका यु१५ फुटबल प्रतियोगिता, जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता, ६ देखि १३ वर्ष उमेर समूहका ग्रासरुट, प्रशिक्षक प्रशिक्षण, रेफ्री प्रशिक्षणलगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ वरिष्ठ उपाध्यक्ष तथा एन्फा प्रदेश १ का अध्यक्ष किशोर राई, एन्फाका केन्द्रीय सदस्य दिपक राई, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, संघका पूर्वअध्यक्ष बालजीत राई, काँकरभिट्टा भेट्रान्स फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका महासचिव शेरबहादुर बस्नेत ‘सुन्दर’ले सहजीकरण गरेको कार्यक्रममा संघका उपाध्यक्ष मनेष दाहालले स्वागत गरेका थिए । साधारणसभाको अध्यक्षता संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer