२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम र प्रदेश दुई बाहिरिए


बिर्तामोड, माघ ११ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर दुईलाई ३ विकेटले पराजित गरेको छ ।

चौथो संस्करणको यो प्रतियोगिताबाट हारसँगै प्रदेश दुई पनि समूह चरणबाट औपचारिक रुपमा बाहिरिएको छ । सुदूरपश्चिम यसअघि नै बाहिरिएको थियो । जितको लागि १९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको छ ।

सुदूरपश्चिमका विकेटकिपर सन्जु दमाईले ३५ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । ओपनर गजेन्द्र बोहोरा ४७ बलमा ६ चौकासहित ३९ रनमा आउट भए । खडकबहादुर बोहोराले ७३ बलमा ६ चौकासहित ४३ रनको योगदान दिए । अरुण ऐरी १९ रनमा आउट भए ।

प्रदेश २ का कुमार थापाले ६ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ३ विकेट लिए । हरिशंकर शाहले २ विकेट लिए । विवेक यादव र रवि शाहले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४२ ओभरमा १९५ रनमा अल आउट भएको थियो । प्रदेश दुईका लागि ओपनर हरिशंकर शाहले ७३ बलमा ९ चौकासहित सर्वाधिक ६० रनको योगदान दिए । युवा ब्याट्सम्यान विवेक यादवले ५२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनको योगदान दिए ।

पाँचौँ ओभरको अन्तिम बलमा हेमन्त धामीले ओपनर सुधीर चौधरीलाई एक रनमा एलबिडब्ल्यु आउट गरेका थिए । छैटौँ ओभरको पाँचौँ बलमा भोजराज भट्टले रवि शाहलाई शून्यमा एलबिडब्ल्यु आउट गरे । विशाल शुश्लिङलाई नरेन्द्र साउदले ७ रनमा क्याच आउट गराए । शेर मल्लले २३ औँ ओभरको तेस्रो बलमा शेर मल्लले हरिशंकर शाहलाई बोल्ड आउट गरेका थिए ।

महबुब आलम २६ बलमा २ चौका र २ छक्कासहित तल्लोक्रममा २३ रन जोडे । राहुल प्रताप सिंह १२, आदिल अन्सारी १ र दिब्यांशु मलिकले खाता खोल्न सकेनन् । कुमार थापा १६ बलमा १ छक्कासहित ११ रनमा अविजित रहे ।

स्पिनर शेर मल्लले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । अर्का युवा स्पिनर नरेन्द्र साउदले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । अरुण ऐरीले २, भोजराज भट्ट र हेमन्त धामीले १–१ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहँदै बाहिरिएको छ । प्रदेश २ तीन खेलमध्ये तीनमा नै पराजित हुँदै एक खेलअगावै बाहिरिएको छ । अन्तिम खेलमा प्रदेश दुईले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

समूह ए बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । समूह बी बाट पुलिस, बागमती र लुम्बिनीमध्ये दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer