२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

टिनएजमै समाजसेवामा लागेका माधव


बिर्तामोड, माघ १४ । किशोर अवस्थामा प्रवेश गरेपछि, धेरै अभिभावकलाई आफ्ना सन्तानबारे चासो र चिन्ता थपिन्छ । टिनएजरहरु बाटो अल्मलिन्छन् कि भन्ने पीर हुन्छ । तर, माधवकुमार झाका बुवाआमालाई यास्ता खाले तनाव कहिल्यै भएन ।

१४ वर्षकै उमेरमा सेवाभाव पलाएर समाज परिवर्तनका लागि झाले नेतृत्व गर्दै आएका छन् । युथ फर सोसियल ट्रान्सफरमेसन नामक संस्थाको स्थापना गरेर उनले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका छन् । बिर्तामोड निवासी २१ वर्षीय झा संस्थापक अध्यक्ष रहेको सो संस्था विपन्न बालबालिकालाई छात्रवृत्ति दिएर पढाउने उद्देश्यले स्थापना भएको हो ।

साथीभाइमाझ ‘टाइगर’ उपनामले परिचित उनी काम पनि त्यस्तै गर्न रुचाउँछन् । हक्की, निडर र लिडर उनले आफ्नो व्यक्तिगत खर्चमा १५ जना विपन्न विद्यार्थीलाई पढाइरहेका छन् । २ नम्बर प्रदेशका ती विद्यार्थी डेढ वर्षयता झाले प्रदान गर्दै आएको खर्चमा अध्ययन गरिरहेका छन् ।

उनको संस्थाले सुरुवाती दिनमा स्कुलसम्म पुगेर विद्यार्थीलाई तालिम, शैक्षिक सामग्री वितरण, विशेषज्ञ लगेर परीक्षा लेख्न सिकाउने, उत्प्रेरणामुलक तालिम तथा अन्य सहयोग गरेका छन् । खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखिने अनेकन मनोसामाजिक समस्या दूर गर्न झा र उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आजभन्दा सात वर्षअघि विद्यालयले दिएको गृहकार्य गर्दैगर्दा रेडियोमा एउटा यस्तो अन्तरवार्ता झाको कानमा गुञ्जियो कि, त्यसले उनलाई समाजमा थोरै भए पनि योगदान रहनुपर्ने रहेछ भन्ने दिलायो । त्यही प्रेरणाले आजसम्म उनलाई समाजप्रति सेवा र सहयोगको भावना उत्पन्न गराइरहेको छ ।

कक्षा १२ सकेर व्यवसायमा हात हालेका उनले सप्तरीको एक अनाथ आश्रमलाई मासिक रुपमा चामल र प्रत्येक दसैँमा नयाँ कपडा प्रदान गर्दै आएका छन् । त्यस्तै, साथीहरुको सहयोगमा गत लकडाउनमा खाना अपुग भएको ठाउँमा खाना र स्वास्थ्य सामग्री पुर्याउन ‘फोनकल’ अभियान चलाएका थिए ।

उनले आगामी दिनका लागि नयाँ भिजन ल्याएका छन्, युवा सशक्तीकरण र जागरण । त्यस्तै, युवालाई उद्यमी, व्यवसायी कसरी बनाउने, स्वदेशमै उनीहरुलाई कसरी व्यस्त बनाउने भन्नेबारे योजना बनाइरहेको उनी सुनाउँछन् ।

त्यस्तै, उनले केही बृहत र दीर्घकालीन योजनाहरु पनि बनाएका छन् । बिर्तामोडमा सामुदायिक पुस्ताकलय बनाउने । त्यसका लागि स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेका छन् । लागुऔषधको लतमा लागेका युवालाई नयाँ जीवन प्रदान गर्न सुधार केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer