२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘कोभिसिल्ड’ लगाउन सुरु, झापाका ४,९७७ जनालाई खोप लगाइने


बिर्तामोड, माघ १४ । झापासहित देशैभर आज कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउन सुरु गरिएको छ । झापाका चार हजार ९७७ जनालाई खोप लगाइँदैछ ।

देशभर १२० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गरेका थिए ।

झापामा प्रस्तावित मेची प्रादेशिक अस्पतालका डा. मनिष सुवेदीले पहिलो खोप लगाएका छन् । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरेपछि स्वास्थ्यकर्मीको टोलीले डा. सुवेदीको देब्रे पाखुरामा खोप लगाएका थिए ।

त्यस्तै, बिर्तामोड नगरपालिकामा पहिलो खोप डा. राहुल राठी र महिला स्वास्थ्य स्वयमसेविका निर्मला सुवेदी नेपालले लगाएका छन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्त रुपमा खोप स्वस्थ्यकर्मीलाई प्रदान गरेर अभियानको शुभारम्भ गरेका थिए ।

अनारमनी नगर अस्पतालका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा नगरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र स्वस्थ्यकर्मीहरुले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश नम्बर १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाइनेछ ।

प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५७६ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० भायल मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीले बताए ।

प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer