२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

शर्मिलाको ह्याट्रिकमा आर्मी शीर्ष दुईमा


काठमाडौँ, माघ १९ । विराटनगर महानगरपालिकालाई ७–० ले हराउँदै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले महिला राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा आर्मीकी शर्मिला थापाले ह्याट्रिक गरिन् । त्यस्तै, बिमला चौधरीले दुई गोल गर्दा रश्मि घिसिङ र बिमला विकले एकएक गोल गरे ।
२९औँ मिनेटमा रश्मि घिसिङले पेनाल्टी चुकाउदा आर्मी अग्रता लिनबाट चुक्यो । सरिता शेर्पाले पेनाल्टी बक्समा बिमला चौधरीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रश्मिको फितलो प्रहार गोलरक्षक तथा कप्तान कल्पना कार्कीले सहजै बचाइन् ।

३६औँ मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई १–० ले अघि बढाइन् । बिमलाको कर्नर बिराटनगरबाट क्लियर हुन नसक्दा बिमला आफैले टप कर्नरमा गोल गर्न सफल भएकी थिइन् ।

४५औँ मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अगता दोब्बर पारिन् । बिमला चौधरीको हेडर प्रयासमा पूर्णिमा कुमारीले क्लियर गर्न नसकेको बललाई शर्मिलाले नियन्त्रणमा लिँदै गोल गर्न सफल भइन् । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्मीको अग्रता तेब्बर पारिन् । उनले हुलमुलका बीचमा गोल गरिन् ।

५७औँ मिनेटमा आशा कुमारीको फ्रिकिक क्रसबारमा लागेर फर्कदा विराटनगर गोलअन्तर कम गर्नबाट चुक्यो । ६१औँ मिनेटमा शर्मिला थापाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले सपना लामाको पासमा गोल गरेकी थिइन् । ६७औँ मिनेटमा रश्मि घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ५–० ले अघि बढाइन् ।

सपना लामाको क्रसलाई पूर्णिमा कुमारीले ह्यान्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी प्रदान गर्दा यसपटक रश्मि चुकिनन् । ७१औँ मिनेटमा फ्रिकिकबाट आएको बललाई विमला विकले हुलमुलमा गोल गर्न सफल भएकी थिइन् । ८४औँ मिनेटमा दीपा राईको पासमा बिमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को फराकिलो जित दिलाइन् ।

यो जितसँगै आर्मी ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एपिएफको १५ अंक छ । पराजित विराटनगर ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer