२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

टहरा हटाउने नगरको निर्णयविरुद्ध व्यवसायी आन्दोलित


बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो ।

आज मंगलबार देवी बुधबारे बजारमै पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरुलाई नगरपालिकाले हटाउन नमिल्ने जिकिर गरेका छन् । सो स्थानमा विगत २९ वर्षदेखि अस्थायी टहर निर्माण गरेर व्यवसाय सञ्चालन हुँदै आएको छ ।

व्यवसायीहरुले आफूहरुको उचित व्यवस्थापन हुनुपर्ने माग राखेका छन् । साथै, बजारका सम्पूर्ण व्यवसायीलाई समान व्यवहार गर्न उनीहरुले नगरपालिकालाई आग्रह गरेका छन् । सो स्थानमा १६४ वटा पसल सञ्चालन हुँदै आएको छ । व्यवसायीहरुले संघर्ष समिति बनाएर माघ १६ गते नगरपालिकाको ध्यानाकर्षण गरिसकेका छन् ।

नगरपालिकाले छलफल नै नगरी सूचना निकालेर टहरा हटाउन गरेको निर्णयले आफूहरुको रोजीरोटी गुम्ने संघर्ष समितिका संयोजक मोहम्मद अली आलमले बताए । उनले आफूहरुको टहर हटाएर व्यवसाय बन्द गर्ने हो भने झन्डै एक हजारजनाको दैनिकी नै संकटमा पर्ने जानकारी दिए ।

सो स्थानमा स्थायी संरचना बनाएर नगरपालिकाले व्यवस्थित गरे आफूहरु राज्यको नियमअनुसार व्यवसाय गर्न तयार रहेको संघर्ष समितिका सदस्य दिपेन्द्र न्यौपानेले बताए । आफूहरु नगरपालिकाले गर्ने विकास निर्माणको विरोधमा नरहेको तर आफूहरुलाई न्यायोचित व्यवस्थापन गर्नुपर्ने संघर्ष समितिका सदस्य लक्ष्मी भट्टराईले बताए ।

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड नगरपालिकाले जारी गरेको सूचनाबाट व्यवसायीहरुलाई कुनै विकल्प नदिई विस्थापित मात्र गर्ने देखिएको, कयौँको रोजीरोटी गुम्ने अवस्था आएको हुँदा उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरुलाई त्यहाँबाट विस्थापित गर्नुअघि वैकल्पिक व्यवस्था गरिदिनका लागि माग गरेको छ ।

साथै, उक्त स्थान कुन प्रयोजनका लागि खाली गराउन लागिएको हो त्यसको उद्देश्य समेत स्पष्ट नभएको सन्दर्भमा व्यवसायीहरुलाई अर्को वैकल्पिक व्यवस्था नहुञ्जेलसम्मका लागि साविककै ठाउँमा निर्वाध रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण बनाइदिनुहुन समेत संघले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

यसैबीच, नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सो स्थानमा ५ नम्बर वडा कार्यालय र विपन्नवर्गका लागि साना सहरी अस्पताल निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताएका छन् । उनले बिर्तामोड सहरमा दिनदिनै मानिसको चाप बढ्दै गएकाले बाँकी जग्गामा सवारी साधन पार्किङ स्थल बनाइने जनाए । सो स्थानमा नगरपालिकाको स्वमित्वमा एक बिघा जग्गा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer