२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

वडास्तरीय क्रिकेटको उपाधि वडा नम्बर ३ लाई


बिर्तामोड, फागुन २ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।

वडा नम्बर ३ ले फाइनलमा वडा नम्बर ४ लाई हराउँदै उपाधि जितेको हो । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहेको प्रतियोगिता देवी माविको प्रांगणमा भएको थियो । समिति सचिव विशाल अग्रवालका अनुसार खेल सुपर सिक्सको नियमअनुसार खेलाइएको थियो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले खेलकुद गतिविधिमार्फत वडा नम्बर ५ ले गरेको कामको प्रशंसा गरे । उनले युवालाई खेलकुदले स्वस्थ र अनुशासित बनाउने भएकाले प्रतियोगिता जरुरी रहेको बताए । युवा व्यवसायी सुवास भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।

सचिव अग्रवालले स्वागत गरेको प्रतियोगिताको समापन वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गरेका थिए । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो ।

समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सुरु गरिसकेको छ । समितिले फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्नेछ । फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुनेछ ।

समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer