२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विराट-अर्जुनको रक्तदानमा १६५ पिन्ट रगत संकलन, कर्मचार्यको १६५ औँपटक


बिर्तामोड, फागुन ८ । नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा झापाका बिर्तामोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संयोग कस्तो भने तिनै सर्वाधिक रक्तदाताले आज १६५ पटक रक्तदान गरे भने, सो कार्यक्रममा रक्तदाताको संख्या पनि १६५ नै रहेको छ । झापाको बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष नवीन खरेलका अनुसार झापामा भइरहेको रगतको अभाव टार्न संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रममा १६५ जनाले रक्तदान गरेका हुन् । रक्तदान सफल पार्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग तथा आदर्श ब्यांक्वेट बिर्तामोड र सुरुवाती कोठा नेपालको सहयोगमा भएको कार्यक्रममा दिनेश भट्टराईले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष खरेलले ३० पटक रक्तदान गरेका थिए ।

कार्यक्रममा एकैघरका संस्थाका अध्यक्ष खरेल, स्वर्गीय नरमाया खरेल शिक्षा कोषकी संयोजक तथा उनकी पत्नी उषा खरेल, छोरा आर्यन खरेल, दम्पत्ती पंकज खरेल र कमला चुडाल खरेल, दृष्टीविहीन चन्द्रसाद भट्टराईले १६ औँपटक, दिपक संग्रौलाले ५६ औँपटक, नेत्र रम्तेलले ४९ औँपटक, गोपाल घिमिरेले ३८ औँपटक रक्तदान गरे ।

संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष यादव ओलीले स्वागत गरेका थिए । कार्यक्रममा कर्माचार्यलाई सम्मान गरिएको थियो भने अन्य रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले रगतको महत्वबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer