२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री ओलीले भोलि गर्ने


बिर्तामोड, फागुन १७ । अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि गर्ने भएका छन् ।

उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने अस्पतालका कार्यकारी निर्दशक दुर्गा प्रसाईंले जानकारी दिए । भारतकी प्रसिद्ध नायिका सोनाली बेन्द्रेलाई समेत निम्तो पठाइएको छ ।

कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।

मंगलबार उद्घाटनका दिन बिहान १० बजेको यती एयरलायन्समार्फत ओली काठमाडौँबाट भद्रपुर विमानस्थल आउनेछन् । कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे उनी काठमाडौँ फर्कने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले फागुन १८ गते करिब ७ घण्टा बिएन्डसी हस्पिटलसँगै रहेको क्यान्सर अस्पताल परिसरमा समय बिताउने छन् । ओलीले अधिकांश समय क्यान्सर अस्पताल र बिएन्डसीलाई दिनेछन् ।

एक वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको क्यान्सर अस्पतालको औपचारिकरुपमा उद्घाटन भने भएको थिएन । उद्घाटनका अवसरमा काठमाडौँबाट ठुला मिडियाका सम्पादक र स्वास्थ्य विधामा कलम चलाउने करिब ६० जना पत्रकार आउने गिरीले जानकारी दिए ।

बिएन्डसी हस्पिटलका निर्देशक प्राडा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै अब्बल अस्पताल भएको बताए । उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा हाल १ सय बेड सञ्चालनमा रहेको छ । ३ सय बेडको स्वीकृति पाएको अूपतालमा संरचना निर्माण भइसकेकाले थप सेवासहित निकट भविष्यमै सञ्चालनको तयारी गरिएको उनले बताए ।

दिल्लीमा हुने सबै स्वास्थ्य परीक्षण र उपचार सुविधा पूर्वाञ्चल क्यान्सर र बिएन्डसी हस्पिटलमा रहेको भन्दै उनले प्रतिस्पर्धा दिल्लीसँग नभई सिंगापुरको हस्पिटलसँग रहेको पनि उनले ठोकुवा गरे ।

छ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको अस्पतालमा क्यान्सरको रडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने गिरीले जानकारी दिए । अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer