२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा स्पोर्टस अवार्ड: अनन्त र जुनी वर्षका उत्कृष्ट खेलाडी


बिर्तामोड । राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । तामाङ झापा र राई इलामकी हुन् ।

२०७६ सालमा गरेको प्रदर्शन र उपलब्धिका आधारमा छनोट भएका खेलाडीमध्येबाट अनन्त र जुनी विजेता बनेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाले शुक्रबार साँझ बिर्तामोडमा अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।

झापाका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरे । सो विधामा फुटबलरकै छिरिङ गुरुङ र सेसेहाङ आङदेम्बेलाई पछि पार्दै अनन्तले उत्कृष्ट चुनिएका हुन् ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा अनन्त टोलीका सदस्य थिए । अनन्तको अनुपस्थितिमा उनको उपाधि दाजु फुर्वाले अवार्ड ग्रहण गरे ।

महिलातर्फ उत्कृष्ट वर्ष खेलाडी इलामकी जुनीले एक थान स्कुटर प्राप्त गरिन् । जुनीले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारेकी थिइन् ।

त्यस्तै, वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड फुटबलका रेजिन सुब्बाले जिते । झापाका रेजिनले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गरे । रेजिनले कबड्डीकी अनुजा कुलुङ राई र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारे ।

१३ औँ सागमा कराते टोलीका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती वर्षका उत्कृष्ट प्रशिक्षक चुनिए । उनले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवाल र पौडीका ओङदेन लामालाई पछि पार्दै उप्रेती उत्कृष्ट प्रशिक्षक चुनिएका हुन् ।

महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले पिपुल्स च्वाइज अवार्ड जितिन् । उनले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । ओलम्पियन डम्बर कुँवर लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनले अवार्डसँगै ३५ हजार रुपैयाँ प्राप्त गरे ।

खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारीरिक सुगठनका राम दाहालले स्पेशल अचिभमेन्ट अवार्ड प्राप्त गरे । लिम्बू र दाहालले ट्रफी र २५ हजार रुपैयाँ प्राप्त गरे ।
२०६६ सालमा स्थापना भएको मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा चार वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

मञ्चका अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, सहारा अटोमोबाइल्सका अध्यक्ष महेन्द्रकुमार गिरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नम्वाङ, पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलगायतले चेकबोर्ड तथा ट्रफी प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer