२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रोलिङ्ग च्यालेन्ज कपः रेड हर्स अन्तिम चारमा


बिर्तामोड, चैत ७ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगितामा रेड हर्स फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ । जितसँगै रेड हर्स सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु स्टार फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै इलाम सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलमा न्यु स्टार सुनसरीले बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

पहिलो हाफको १० औँ मिनेटमा सुनसरीले पाएको अवसरलाई सुसन तामाङले उपयोग गर्न सकेनन् । २ मिनेटपछि इलामका हरि सिटौलाको पासलाई रेड हर्सका कप्तान मनिष थापाले समेत गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो ।

दोस्रो हाफमा समेत सुनसरीले खेलमा दबदबा कायम राख्दै बललाई इलामको पोष्टबारमा पटक÷पटक प्रहार गर्यो । खेलमा नियमित दबाब राखेको सुनसरी गोल गर्न नसकिरहेको अवस्थामा दोस्रो हाफको २७ औँ मिनेटमा इलामका हरि सिटौलालाई डिएरियामा लडाएपछि इलामले पोनाल्टी प्रहार गर्ने मौका पायो । सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका इलामका पासाङ शेर्पाले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

५ मिनेटपछि इलामका विकेश लिम्बूले टिमका लागि दोेस्रो गोल गर्दा इलामले खेलमा २–० को अग्रता बनायो । दोस्रो हाफको ३४ औँ मिनेटमा इलामका हरि सिटौलाले अन गोल गर्दा सुनसरीले सान्त्वना गोलको उपहार पायो ।

खेलको अधिकांश समय आफ्नो नियन्त्रण राखे पनि गोल गर्न नसक्दा सुनसरी खेलबाट बाहिरिन पुग्यो । उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनेका विजेता रेड हर्सका माल्दिमा आङ्थुपोले नगद ५ हजार प्राप्त गरे ।

आइतबारको खेल शिवसताक्षी फुटबल क्लब झिलझिले र पथरी फुटबल क्लब मोरङबीच खेल हुने आयोजकका सचिव महेश खड्काले बताए ।

शनिबारबाट सुरु भएको प्रतियोगिता चैत १४ गते सकिनेछ । विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विमल आचार्यले नगरपालिकाले अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गर्दै खेलकुदका गतिविधि अघि बढाउने बताए । उनले चैत अन्तिम साताबाट नगरमा खेल महोत्सव सञ्चालन गर्ने र खेलाडी सम्मान गरिने बताए ।

वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्काले प्रतियोगिता सञ्चालनका लागि आयोजक क्लबलाई नगद १० लाख रुपैयाँ र वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरुले नगद २० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले ५० वर्ष इतिहास भएको क्लबले आगामी असोजमा ए डिभिजन क्लब सहभागी हुने गोल्डकप आयोजना गरिने जानकारी दिए । उनी क्लबका पूर्वअध्यक्ष हुन् । क्लबका अध्यक्ष नोभेम्बरविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख र उपविजेता टिमले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer