२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कीर्तिमानी ओलम्पियन डम्बर कुँवर


कुँवरलाई ट्रफी, बुक्के र डमी चेक हस्तान्तरण गर्दै नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, केन्द्रीय अध्यक्ष देवेन्द्र सुवेदी र झापा सचिव अर्जुन राजवंशी ।

-सुमन चापागाईं
बिर्तामोड, चैत १० ।
स्वर्गीय धनसिंह कुँवर र स्वर्गीय नन्दादेवीको कोखबाट विसं २०१७ असोज १५ गते धर्तीमा पाइला टेकेका डम्बरसिंह कुँवर एथ्लेटिक्समा निकै कर्णप्रिय नाम हो । हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको चर्चा चल्दा कुँवरको नाम जोकोहीले पनि लिन्छन् ।

सन् १९८८ को कोरियाको सियोलमा सम्पन्न २४औँ ओलम्पिकअन्तर्गत डेकाथलनमा बनाएको कीर्तिमान अझैसम्म पनि कुनै नेपाली खेलाडीबाट तोडिएको छैन । ५६.८० सेकेन्डबाट रचिएको राष्ट्रिय कीर्तिमानले अझै उनी बढी परिचित छन् ।

स्कुले जीवनदेखि नै खेलकुदमा रुचि राख्ने कुँवर २०३५ सालमा खेलकुदकै माध्यमबाट नेपाल आर्मीका जागिरे बने । दार्चुलाको मेहन्द्र माविमा कक्षा १० को पढाइ सकेपछि जागिरे बनेका कुँवरको पछि सुदूर पूर्वको झापामा पोस्टिङ भयो । विभागबाटै कुँवरले खेल जीवनलाई निरन्तरता दिए ।

झापामै लक्ष्मी कुँवरसँग घरजम पनि बस्यो । जागिरकै क्रममा विसं २०४१ सालमा शान्ति सेनाको रुपमा कुँवर लेवनान गए । एक वर्षपछि शान्ति मिसनबाट फर्किएका कुँवरले एसियन ट्राक एन्ड फिल्ड सिंगापुर र थाइल्यान्ड एथ्लेटिक्स प्रतियोगिताको रिले विधामा सहभागिता जनाए । सिंगापुरको सहभागिता अनुभव बन्दा थाइल्यान्ड सहभागिताले कुँवरलाई कास्य पदक दिलायो ।

ऊ बेलाका गणका प्रमुख सेनानी दिलिप रायमाझीलाई आर्दश व्यक्ति मान्ने कुँवरले पहिलो, दोस्रो, र तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) हर्डल्समा सहभागिता जनाएका थिए । पहिलो र दोस्रोमा अनुभव बटुलेका कुँवरले कलकत्तामा सम्पन्न तेस्रो सागमा भने चौथौ स्थान हात पारेका थिए ।

उमेरसँगै पारिवारिक जिम्मेवारी बढ्दै गएपछि कुँवरले खेलकुद सक्रियतालाई विस्तारै घटाए । ३५ बर्से सक्रिय खेलकुदमा जीवन बिताएका कुँवर २०५५ सालमा राजा वीरेन्द्रबाट गोर्खा दक्षिणबाहुबाट विभूषित भएका थिए । पल्टनको जागिरबाट पेन्सन पाएका कुँवरले २०५२ सालपछि ट्राक एन्ड फिल्डमा खेलाडीको रुपमा नफिर्किने निधो गरे । त्यसपछि आर्मीमा नै प्रशिक्षक बनेको कुँवर पछि कर्मथलो झापा फर्र्किए ।

झापामा खेलकुद विज्ञको रुपमा परिचय बनाएका कुँवर अहिले नजिकैको स्कुलमा खेलकुद प्रशिक्षकको जिम्मेवारी निभाइरहेका छन् । डेढ वर्षकी नातिनीसँग खेलेर दैनिकी बिताइरहेका कुँवर सोखले खसी पालन पनि गरेका छन् ।

अवार्ड ग्रहणपछि परिवारका साथ कुँवर ।

पेन्सनबाट आएको पैसाले जेनतेन जिन्दगी छिचोलिरहेको बताउने कुँवरले खेलकुद केन्द्रमा मात्र सीमित हुने गरेकोमा चिन्ता व्यक्त गर्छन् । पहिलो जस्तो अहिले एथ्लेटिक्समा खेलाडीलाई समस्या छैन । मागअनुसार खेलाडीले सेवा सुविधा पाउँछन् तर प्रतियोगितापूर्व हुने तयारीले प्रतियोगिता सहभागिता सार्थक नहुने कुँवरको तर्क छ । त्यसका लागि कुँवरले एथ्लेटिक्स खेलाडीलाई सधैँ अभ्यासको खाँचो पर्ने औँल्याउँछन् ।

खुलकुद नै जीवन हो । खेल माध्यमबाट नै आपसी भाइरचार, सम्बन्ध, राष्ट्रियता झल्किन्छ भन्ने सोच राखेर खेलमा जीवन समर्पित गरेको उनै कुँवरलाई गत फागुन २८ गते नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले चौथो संस्करणको झापा स्पोर्टस् अवार्ड २०७६ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।

तस्वीरहरुः विनोद पाण्डे/एनएसजेएफ झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer