२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा चैत २० गतेदेखि हात्तीपाइलेविरुद्ध औषधि खुवाइँदै


बिर्तामोड, चैत १८ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आम औषधि वितरण अभियान चैत २० गतेबाट सुरु हुने भएको छ । अभियान चैत मसान्तसम्म चल्नेछ ।

आम औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन झापामा पत्रकारसँग अन्तरक्रिया समेत गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा हात्तीपाइले रोग निवारणका लागि सरकारले अघि सारेको कार्ययोजना सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताइयो ।

हात्तीपाइले रोग परजीवी जुकाबाट हुने र लामखुट्टेको टोकाईबाट सर्ने र मानिसलाई कहिल्यै निको नहुने गरी असक्त, अपाङ्ग बनाउने सरुवा रोग भएकाले आम औषधि वितरण अभियान थालिएको हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईंले बताए ।

औषधी वितरण जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाका सबै वडाहरु, स्वास्थ्य संस्थाहरु तथा टोलटोलमा संचालन हुने जनाइएको छ । २ वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा ७ दिनसम्मका सुत्केरी र ओछ्यान परेका सिकिस्त बिरामीहरु बाहेक सबै व्यक्तिलाई औषधि खुवाउन स्वास्थ्यकर्मीहरु घरघरमा आउने कार्यक्रम रहेको फोकल पर्सन चौलागाईंले बताए ।

उनका अनुसार जिल्लाभरका ८ लाख ४ हजार ९७ जनालाई ६०० जना तालिमप्राप्त स्वास्थ्यकर्मी तथा ६०० जना महिला स्वयमसेविकाद्वारा औषधि खुवाइने कार्यक्रम रहेको छ ।

जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईंले गत वर्ष गरिएको सर्वेक्षणको तथ्यांकअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५४ जना रहेको बताए ।

नौ लाख ३४ हजार ७०० जनसंख्या रहेको जिल्लामा यस वर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयमसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने भएको छ । अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको बताइएको छ । स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गरिएको छ ।

सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चियाबगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, सहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer