२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालको ‘संकटमोचक’ बनेका झापाका सन्जोक राई


झापा, चैत १९ । गत सोमबार सन्जोक राईले ६ वर्षपछि चैनको सास फेरे । फुटबल करिअरका दौरान भोगेका पीडामा मलम लगाए ।

आफ्नो ब्याचका खेलाडी नेपाली फुटबलमा छाइरहँदा एन्फा एकेडेमीका उत्पादन सन्जोक विभिन्न कारणले सन् २०१५ पछि ओझेलमा परेका थिए । परिवारको आर्थिक संकट टार्न भारतीय सेनामा भर्ती हुन लखनउ पुग्नु उनको बाध्यता थियो । अनि आफूआबद्ध क्लबसँग सम्झौताको झमेलाका कारण ६ महिना प्रतिबन्धमा पर्नु उनको नियति बन्यो ।

समस्याबाट बाहिर निस्केपछि मिडफिल्डर सन्जोक नेपाली फुटबलका संकटमोचक बने । ’थ्री नेसन्स कप’ फाइनलमा गत सोमबार बंगलादेशविरूद्ध गोल गर्दै नेपाली फुटबलको १८ महिना लामो गोलको खडेरी तोडे । सन्जोकले दोस्रो गोलका लागि विशाल राईलाई सटिक पास उपलब्ध गराए । जसकारण उनी फाइनल खेलको ’प्लेयर अफ म्याच’ घोषित भए भने नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्यो ।

थ्री नेसन्स कपमा किर्गिस्तानको यु–२३ टिमविरूद्ध खेल्दै उनले सिनियर टिमबाट पहिलोपटक नेपालको जर्सी लगाउने अवसर पाए । सो खेल आधिकारिक अन्तर्राष्ट्रिय खेल नभएकाले शनिबार बंगलादेशविरूद्धको खेल उनको डेब्यु थियो ।
उनले दुवै खेल सोचेअनुरूप खेल्न सकेका थिएनन् । कमजोरी पत्ता लगाउन होटल फर्किएर आफ्नो खेलको भिडिओ हेरे । भिडिओमा प्रतिक्रिया आएका थिए । ती प्रतिक्रिया पढेर राति २ बजेसम्म बसेका थिए ।

’अबेरसम्म मेराबारे आएका सबै कमेन्ट पढेर बसेँ । कतिपय नराम्रा कमेन्ट पनि थिए । कताकता नरमाइलो लाग्यो,’ २३ वर्षीय सन्जोकले भने ।

तर ती कमेन्ट उनका लागि प्रेरणा बने । फाइनलमा दमदार खेल्दै सबैलाई जवाफ दिए । डेब्यु गरेको दोस्रो खेलमै राष्ट्रिय टिमबाट गोल गर्दा उनको खुसीको सीमा रहेन ।

’क्लबबाट गोल गर्दा पनि खुसी भइन्छ । तर राष्ट्रिय टिमबाट गोल गर्दाको खुसी छुट्टै हुँदो रहेछ । हजारौँ दर्शकअघि गोल गर्दा छुट्टै जोश र जाँगर आउँदो रहेछ,’ उनले पहिलो अन्तर्राष्ट्रिय गोलको अनुभव सुनाए ।

झापा बिर्तामोडका सन्जोक फुटबलको माहोलमै हुर्किएका हुन् । आठ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका उनको प्रतिभा देखेर सिनियरले हौस्याउँथे ।

’दाइहरूले राम्रो खेलिस् भन्नु हुन्थ्यो । त्यसैले मेरो फुटबलप्रतिको लगाव बढ्दै गयो,’ उनी भन्छन् ।
बाल्यकालमै उनी फुटबलमा भविष्य खोज्दै काठमाडौँ आएका थिए । एन्फा एकेडेमीका लागि भएको छनोटमा सफल हुन सकेनन् । त्यसपछि उनले धरानमा दोस्रो प्रयास गरे । एन्फाको धरानस्थित एकेडेमीका लागि १२ वर्षकै उमेरमा छनोट हुन सफल भए ।

एन्फाको काठमाडौँ, बुटवल र धरानको एकेडेमीमाआबद्ध खेलाडीमध्येबाट घोषित गरिएको उमेर समूहका टिममा उनी पर्न सफल भए । उनको ब्याचमा विमल घर्तीमगर, अन्जन विष्ट, अनन्त तामाङ, हेमन्त थापामगर जस्ता प्रतिभाशाली खेलाडी थिए ।

एन्फामा पाँच वर्ष बसेपछि सन् २०१५ मा उनले नेपाली फुटबलको करिअर त्याग्ने निधो गरे । आफ्नै ब्याचका केही साथीसँगै उनी भारतीय सेनामा भर्ती हुन लखनउ पुगे । त्यही बेला, २०७२ को भुइँचालोपछि एन्फा कम्प्लेक्समा साफ यु–१९ च्याम्पियनसिप भएको थियो । उक्त प्रतियोगिता खेल्न राष्ट्रिय टिममा बोलावट भए पनि उनी लाहुरे बन्ने सोचले भारत पुगेका थिए ।

यु–१९ राष्ट्रिय टिम त्यागेर भारत जानु उनको बाध्यता थियो । घरमा कमाउने कोही थिएनन् । दाइ पनि फुटबल खेलाडी नै भएकाले आमाबुवाले जागिर खान भनिरहन्थे । सन्जोकले भने, ’परिवारको आर्थिक समस्याका कारण लाहुरे बन्ने निर्णय गरेको थिएँ ।’

खेलाडी भएकाले सन्जोकले भारतीय सेनामा भर्ती हुने माध्यम पनि फुटबल नै रोजेका थिए । खेलाडीको कोटामार्फत भएको छनोटको मेडिकलमा पास हुन सकेनन् ।

उनी लाहुरेमा असफल भइरहँदा यता नेपालले साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्यो । यो क्षण उनका लागि निकै पीडादायी बन्यो । भारी मन लिएर झापा फर्किए ।

त्यसपछि स्थानीय टिमबाट आफ्नो फुटबल करिअर पुनः अघि बढाए । यो बीचमा उनी नेपालको यु–२३ टिममा पनि परे । २०७० सालदेखि हुन नसकेको सहिद स्मारक ए डिभिजन लिग २०७५ सालदेखि पुनः सुरू भयो । त्यही लिगका लागि उनी च्यासल युथ क्लबमा आबद्ध भए ।

त्यतिबेला च्यासलले आफूले नखेलेको प्रतियोगितामा अर्को टिमबाट खेल्न उनलाई मौखिक अनुमति दिएको सन्जोक बताउँछन् । त्यसैले उनले झापा–११ बाट मोफसलका प्रतियोगिता खेले । च्यासलले पनि खेलेका केही प्रतियोगितामा सन्जोकलाई टिमबाट बोलाएन ।

त्यहीबीचमा एकपटक सन्जोकले झापा–११ बाट च्यासलविरूद्ध खेल्नुपर्ने भयो । उक्त खेलमा उनले च्यासलविरूद्ध गोल पनि गरे । त्यसपछि सन्जोकसँग च्यासल बिच्कियो । एन्फामा सन्जोकविरूद्ध उजुरी प¥यो । जसकारण उनी र निशान खड्कामाथि ६ महिनाको प्रतिबन्ध लगाइयो ।

यो घटनाले सन्जोकमाथि अर्को चोट प¥यो । ’झापा र च्यासल दुवैतिरका व्यवस्थापनले खेल्नुअघि कुनै समस्या हुन्न भनेका थिए । त्यसैले मैले झापाबाट खेलेको थिएँ,’ उनी भन्छन् ।

एन्फाको प्रतिबन्धका कारण उनले गत वर्ष नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) गुमाए । प्रतिबन्धमा परेको दिन उनी एन्फा कम्प्लेक्सको होस्टलमै थिए । टिम अभ्यासमा जानुअघि उनलाई फर्काइयो ।

’होस्टलको झ्यालबाट नेपाली टिमले तयारी गरेको हेरिरहेँ । त्यो बेला निकै नरमाइलो लागेको थियो,’ उनी भावुक भए ।
पछि नेपाली टिमले घरेलु मैदानमा १३ औँ सागको स्वर्ण जित्यो । पहिलोपटक आफ्नै कारणले यु–१९ साफको उपाधि उचाल्ने अवसर गुमाएका सन्जोकले दोस्रोपटक क्लब सम्झौताको झमेलाका कारण सागको स्वर्ण चुम्ने मौका गुमाए ।

छ महिना प्रतिबन्ध झेल्दा उनले अभ्यास गर्न भने छाडेनन् । इख पालेर निरन्तर आफूलाई तिखारिरहे । २०७६ सालको लिगका लागि उनी थ्रीस्टार क्लबमा आबद्ध भए । सुरूआती चरण खेल्न नपाएका सन्जोकले सरस्वतीविरूद्ध ह्याट्रिक गर्दै प्रतिबन्धको जवाफ फर्काए, त्यो सिजनकै पहिलो ह्याट्रिक थियो ।

लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले सिनियर टिमका लागि दावेदारी प्रस्तुत गरेका थिए । तर कोरोनाका कारण राष्ट्रिय टिममा पर्ने उनको लक्ष्य धकेलियो । गत कात्तिकमा नेपालले बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलका लागि ढाका भ्रमण गर्दा उनी झापामा थिए । पिसिआर टेस्टका लागि उनी काठमाडौँ आउन सकेनन् ।

बंगलादेशबाट फर्किएलगत्तै नेपाली टिमले विश्वकप छनोटको तयारी थाल्यो । त्यतिबेला भने उनी राष्ट्रिय टिमको प्रशिक्षणमा उपलब्ध भए । तीन महिना लामो तयारीपछि घोषणा गरिएको २३ सदस्यीय राष्ट्रिय टिममा अटाउन सफल भए । टिममा अटाए पनि पहिलो रोजाइमा खेल्नु चुनौतीपूर्ण थियो । प्रशिक्षकले उनीमाथि भरोसा गरेर बंगलादेशविरूद्ध पहिलो रोजाइमा खेलाए ।

प्रशिक्षकको निर्णय सही सावित गर्दै बंगलादेशविरूद्ध गोल गर्दा सन्जोकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको गोलको खडेरी तोडे । अनि छ वर्षदेखि राष्ट्रिय टिमबाट उपाधि जित्ने आफ्नो भोक पनि मेटाए ।

source: https://www.setopati.com/sports/football/233420

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer