२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

खेलकुद महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित


झापा, चैत २३ । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् ।

नेकपा एमालेनिकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौँको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

महासंघ केन्द्रको भेलाबाट निर्वाचित थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत हुन् ।
सो भेलाले महासंघका संस्थापक अध्यक्ष समेत रहेका पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस्तै, उक्त भेलाबाट महासंघका संस्थापक प्रथम उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव केशवकुमार विष्ट पुनः प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । सुनसरीका विष्टले महासंघको १ नम्बर प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, भेलाबाट केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर प्रदेशको सहइञ्चार्जमा रविन नगरकोटी निर्वाचित भए । मोरङका उनी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष हुन् ।

यस्तै, भेलाले केन्द्रीय सचिवालय सदस्य तथा झापा जिल्ला इञ्चार्जमा धर्मराज शिवाकोटी, केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइञ्चार्जमा अर्जुन मेचे र केन्द्रीय सदस्यमा झापाका उमेश चौलागाईंलाई निर्वाचित गरेको छ ।

भेलाले केन्द्रीय सदस्य तथा इलाम इञ्चार्जमा कुमारी राई, केन्द्रीय सदस्य तथा इलाम सहइञ्चार्जमा शिला श्रेष्ठ, केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्जमा सुरेश साहलाई निर्वाचित गरेको छ ।

सो भेलाबाट निर्वाचित महासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख स्वयम्भुराज डंगोलका अनुसार पुनर्गठित १८४ सदस्यीय केन्द्रीय कमिटीको कार्यकाल ४ वर्षे अवधिको हुनेछ । भेलाले सातैवटा प्रदेशका लागि महासंघको प्रमुख, इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।

त्यसअघि शुक्रबार महासंघले ‘खेलकुद क्षेत्रमा लगानी बढाऔँ, असल खेल संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्घोषका साथ विशेष राष्ट्रिय भेला सम्पन्न गरेको थियो ।

काठमाडौँको कीर्तिपुरस्थित अडिटोरियम हलमा आयोजित उक्त भेलाको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि थिए । त्यस्तै, बन्द सत्रको प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा एमाले नेता गोकर्ण विष्ट प्रमुख अतिथि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer