२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सैनिकमाथि शानदार जीत निकाल्दै बुट्टाबारी फाइनल प्रवेश


बिर्तामोड, चैत ३० । गत वर्षको प्रदेश लिग विजेता सैनिक युथ क्लबमाथि शानदार जीत दर्ता गर्दै आयोजक बुट्टाबारी युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेल अवधिभर बुट्टाबारीले सैनिकलाई दबाबमा राखेको थियो । कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै आयोजकले सैनिकमाथि लगातार गोल गरेको थियो । खेलाडीबीच तालमेल नमिल्दा सैनिकले बुट्टाबारीसामु ५–० को फराकिलो हार ब्यहोर्नु परेको थियो ।

खेलमा बुट्टाबारीका बबिन बोहोराले ह्याट्रिक पूरा गर्दा विजय राई र जमिन लक्समले एक-एक गोल गरे । बबिनले खेलको १७ औँ, २६ औँ र ६४ औँ मिनेटमा गोल गरेका थिए । सुरुवाती दुई गोल उनले उत्कृष्ट हेडरमार्फत गरेका थिए । खेलमा उनी निक्कै नै हाबी देखिन्थे ।

विजयले ७४ औँ र जमिनले ७६ औँ मिनेटमा गोल गर्दै नतिजा ५–० बनाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच ह्याट्रिक गरेका बबिन भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, बिर्तामोड–६ का वडा अध्यक्ष सूर्य कन्दङवालगायतले नगद २ हजार प्रदान गरे ।

सैनिकले दुई फ्रिकिकलाई सदुपयोग गर्न सकेन भने उसको धेरै प्रहार बुट्टाबारीको बलियो रक्षापंक्तिले विफल बनाएको थियो ।

बुट्टाबारीको फाइनल भेट मंगलबार हुने बिर्तामोड युनाइटेड क्लब र जलथल फुटबल क्लबबीच विजेतासँग हुनेछ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer