२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने


बिर्तामोड, बैशाख ४ । गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र २०७८ सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ ।

सातवटा प्रदेश, तीनवटा विभागीय टिम र आयोजक गरी ११ टिमले सहभागिता जनाउने प्रतियोगिता बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

खेल संयोजक दिपेन धिमालका अनुसार तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीसहित १५० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडस्थित मेहरमान स्मृति प्रतिष्ठानको कबर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख २५ हजार रुपैयाँको लागत अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पाउने छन् ।

राष्ट्रियस्तरका प्रतियोगितामा तेक्वान्दोले प्रवेश पाए पनि अन्तर्राष्ट्रिय खेलमा औपचारिक प्रवशे भने आठौँ दक्षिण एसियाली खेलकुद (साग) बाट पाएको थियो । १९९९ को सेप्टेम्भर २५ देखि अक्टुबर ४ सम्म काठमाडौँमा भएको प्रतियोगितामा नेपालले ३१ स्वर्ण जित्दा १४ वटा स्वर्ण तेक्वान्दोले ल्याएको थियो । त्यस्तै, २ रजत पदक जितेको थियो ।

सन् २००४ मा पाकिस्तानमा भएको नवौँ सागमा तेक्वान्दोले ६ स्वर्ण, २ कास्य, सन् २००६ मा श्रीलंकामा भएको १० औँ सागमा २ स्वर्ण, ३ रजत र एक कास्य, सने २०१० मा बंगलादेशमा भएको ११ औँ सागमा २ स्वर्ण, २ रजत र २ कास्य जित्न सफल भएको थियो ।

सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा तेक्वान्दोले ७ रजत र ३ कास्य तथा २० वर्षपछि पुनः नेपालमा भएको १३ औँ सागमा १२ स्वर्ण, ६ रजत र १० कास्य (क्योरोगी र पुम्से दुवै गरी) जितेको थियो ।

तेक्वान्दो खेल प्रति खेलाडीको उत्साह बढ्दै गएपछि झापामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोजिता गर्न लागिएको हो । कोरोनाको संक्रमण बढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer