२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षा बहुउद्देश्यीयद्वारा बालकलाई १० हजार सहयोग


बिर्तामोड, बैशाख ११ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाका तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सदस्य सेवा केन्द्र दुहागढीमा खाता खोलेर नियमित कारोबार गर्दै आएकी संगीता राजवंशीलाई छोराको उपचार सहयोगका लागि संस्थाले रकम हस्तान्तरण गरेको सचिव दिपेश धौरालीले जानकारी दिए ।

स्थानीय सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका राजवंशी दुई वर्षदेखि शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीडित छन् । मेची प्रादेशिक अस्पतालमा उनको नियमित उपचार हुँदै आएको छ ।

पछिल्लो समय हरेक दुई महिनामा छोरालाई रगत चढाउनु पर्ने अवस्था आएको आमा संगीताले बताइन् । एकपटकमा अनिमेषलाई दुई पिन्ट रगत चढाउनु पर्छ । यसबाहेक उनलाई नियमित औषधि खुवाउने गरिएको छ ।

सुरुमा शरीर पहेँलो हुँदै जान थालेपछि राजवंशी परिवारले जन्डिसको उपचार गरेको थियो । तर, ठिक नभएपछि स्वास्थ्य जाँच गर्दा अनिमेषको शरीरमा रगत उत्पादन नहुने समस्या पत्ता लागेको हो ।

समस्या पहिचान भएयता दुई वर्षदेखि अनिमेषलाई ‘ए’ पोजेटिभ समूहको रगत दिइँदै आएको छ । चतुर स्वभावका अनिमेष अर्काले दिएको रगतको भरमा बाँचिरहेका छन् ।

अनिमेषको उपचारका लागि आर्थिक सहयोग गरिदिन संस्थाका अध्यक्ष न्यौपाने र सचिव धौरालीले बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था र सरकारी निकायलाई अपिल पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer