२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल बन्यो त्रिकोणात्मक सिरिजको च्याम्पियन


झापा, बैशाख ११ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक टि२० आइ सिरिजको उपाधि जितेको छ । । सानदार जितको साथ नेपाल च्याम्पियन बनेको हो ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालका कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्समाथि हात पारेको १४२ रनको जित टि–२० अन्तर्राष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औँ सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।

साथै, नेपालले घरेलु मैदानमा ११ वर्षपछि पहिलो उपाधि जितेको हो । यसअघि सन् २०१० मा नेपालमै भएको आइसिसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।

डच टोलीलाई तीन अंकको स्कोर समेत बनाउन नदिने क्रममा नेपाली बलरहरूले यस सिरिजकै उत्कृष्ट प्रदर्शन गरे । नेदरल्यान्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । यस्तै म्याक्स ओ डोले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको सुरुवात राम्रो हुन सकेन । नेदरल्यान्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई दुई रनमै गुमायो । उनलाई आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।

चौथो ओभरको अन्तिम बलमा बेन कुपर आउट भए । कमल सिंह ऐरीको बलमा उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे । पाँचौँ ओभरको पाँचौँ बलमा कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । एक रन बनाएका डच बास डेलाई लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।

छैटौँ ओभरको चौथो बलमा करण केसीले नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । १९ बलको समना गरेका ओ डोडले दुई चौका र एक छक्काको मद्दतमा २० रन जोडेका थिए । विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरको पावर प्लेमा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको थियो ।

त्यसपछि पनि नेपाली बलरहरुले नेदरल्यान्ड्सका ब्याट्सम्यानहरुलाई खेलमा फर्किने अवसर नै दिएनन् । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दिप लामिछानेले समान २–२ विकेट लिदा अविनाश बोहोराका नाममा एक विकेट रह्यो ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दिपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरेका थिए । २० बलमा ५० बल बनाएका कुलशको टि–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशतक हो । १८ बलमा ४८ रन बनाएका दिपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।
कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer