२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

राष्ट्रपतिबाट विभूषित गिरीलाई अभियानद्वारा सम्मान


बिर्तामोड, बैशाख १३ । ‘एकका लागि एक अभियान’ ले राष्ट्रपतिबाट विभूषित तथा सम्मानित अभियानका संयोजक एवम् परिकल्पनाकार महेन्द्रकुमार गिरीलाई बधाई तथा सम्मान गरेको छ ।

अभियानले एक कार्यक्रमका बीच सामाजिक अभियन्ता समेत रहेका गिरीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो । सामाजिक अभियन्ता गिरीलाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवा रत्न पदकबाट सम्मान गरेकी थिइन् ।

सामाजिक काममा गिरीले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै दुई साताअघि उनलाई राष्ट्रपतिले उक्त पदक प्रदान गरेकी थिइन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी गिरीले कोरोना संक्रमणका बेला अघिल्लो वर्ष एकका लागि एक अभियानको परिकल्पना गरी दैनिक छाक टार्न समस्या परेका विपन्न नागरिकलाई खाद्य सहायता उपलब्ध गराउनुका साथै कोभिड १९ परीक्षणका लागि प्रयोगशाला स्थापना तथा प्लाज्मा बैंक स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

संयोजक गिरीले पदक पाउँदा अभियानको गरिमा थप उचाइमा पुगेको अभियानका सहसंयोजक विनोद बस्नेतले बताए । पदक पाउनुमा अभियानको मुख्य भूमिका रहेको जनाउँदै यसको जस आफूले मात्रै नलिने संयोजक गिरीले बताए ।

अभियानको साझेदार संस्थाका तर्फबाट अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल लगायतले संयोजक गिरीलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

Adv footer