२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा १० व्यक्तित्व पुरस्कृत


बिर्तामोड, बैशाख १४ । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले समाजका विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउँदै आएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले विगत आठ वर्षदेखि सामाजिक व्यक्तित्वहरुलाई नगदसहित सम्मान गर्दै आएको छ । मंगलबार बिर्तामोडमा सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको छ ।

प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९ बाट गोरखा पालुङटार–७ का राजेन्द्रराज पन्त र सोही पुरस्कार–२०२० बाट पाल्पा मदनपोखरा– ७ का ढकेश्वर घिमिरे र काठमाडौँका प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कृत गरेको छ । पुरस्कारको राशि जनही एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ बाट दोलखा तामाकोसी–२ कि सिर्जना कार्की र सोही पुरस्कार–२०२० बाट झापा अर्जुनधारा–११ कि इन्दिरा रानालाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ बाट झापा चन्द्रगढीका चूडामणि रेग्मी तथा सोही पुरस्कार–२०२० बाट दाङ घोराही–१८ का दधिराम सुवेदीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१९ बाट झापा शिवसताक्षीका गायक प्रितम आचार्य तथा सोही पुरस्कार– २०२० बाट मोरङ बूढीगंगा–२ को रक्षा किशारी समूहलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि ५१ हजार १११ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिष्ठानले यो वर्ष अन्तर्राष्ट्रिय जुडो खेलाडी झापा–२ कि देविका खड्कालाई खेलकुदमा श्री प्रसाद पुरस्कार तथा सम्मान स्वरुप नगद २५ हजार १११ रुपैयाँसहित पुरस्कृत गरेको छ । खड्का १३औँ सागकी स्वर्णधारी हुन् । नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी उनी एसियन जुडो खेलमा टिम इभेन्टकी रजत विजेता खेलाडी हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानले अर्को वर्षबाट वितरण गर्नेगरी श्री प्रसाद ओली प्रज्ञान पुरस्कार थप गरिएको जानकारी दिए । राष्ट्रको गरिमा बढाउन योगदान पु¥याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिनेछ । प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

यसैगरी, प्रतिष्ठानका संस्थापक, कार्यसमिति सदस्य बद्रीप्रसाद ओलीको स्मृतिमा क्यान्सर सम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, संघ–संस्थामध्येबाट प्रत्येक वर्ष एक लाख एक हजार १११ रुपैयाँको सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उनकै स्मृतिमा क्यान्सर वा यस्तै प्रकृतिका रोगको खोजी कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष तीन लाख रुपैयाँसम्मको वार्षिक सहयोग समेत गरिने कार्यक्रममा जानकारी दिइयो ।

बद्रीप्रसाद ओलीको ब्रेन क्यान्सर रोगबाट विसं २०७६ चैत ७ गते ५९ वर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । उनी श्रीप्रसाद ओली र अम्बिकादेवी ओलीका कान्छा छोरा हुन् । स्वर्गीय बद्रीप्रसादको परिवारले पुरस्कारका लागि प्रत्येक वर्ष ५ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउनेछ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार श्री प्रसाद ओली साहित्यिक पुरस्कार यो वर्ष सुरुङ्गाका साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयले लेखनाथ जयन्तीको दिन सो पुस्कार वितरण गर्नेछ । प्रतिष्ठानले ४२ जना विद्यार्थीलाई आफ्नो खर्चमा पढाइरहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिष्ठान देशमै ठुलो धनराशिको पुरस्कार वितरण गर्ने गैरनाफामूलक सामाजिक संस्था हो । प्रतिष्ठानका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ठ अतिथि कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल र विशेष अतिथि बिर्तामोड वडा नम्बर–४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले सम्मानित व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

कार्यक्रमको औचित्यमामाथि अध्यक्ष ओलीले प्रकाश पारेको कार्यक्रममा प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओलीले स्वागत गरेका थिए भने पत्रकार चन्द्र भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer