
धरान, बैशाख १७ । नक्कली नोटसहित पक्राउ परेका धरानका नेपाली कांग्रेसका नेतासहित तीनजनालाई प्रहरीले छोड्न खोजेको छ ।
विशेष स्रोतका अनुसार उनीहरुलाई आर्थिक चलखेलका आधारमा प्रहरीले छोड्न लागेको हो । उनीहरुलाई नक्कली÷जाली नोटसहित इनरुवा नगरपालिका वडा नम्बर ४ स्टार होटल अगाडिबाट एक साताअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जाली नोटको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले धरान १७ का महेन्द्र तामाङ, धरान १९ का टेक बहादुर तामाङ र सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर २ का नजिम साफीलाई पक्राउ गरेको हो । महेन्द्र तामाङ नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति थिए ।
उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अवस्थामा नक्कली रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नेपाली नक्कली रुपैयाँ १ हजार दरका ४ सय १५ थान अर्थात ४ लाख १५ हजार फेला परेको थियो ।
नक्कली जाली नोटसहित पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान समेत भइरहेको प्रहरीको भनाइ थियो ।