२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

हवाइ ‘बेड सिफ्ट’ गरी बिएन्डसी ल्याइए पाँचौँ संक्रमित


शनिबार अस्पतालको हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरबाट संक्रमितलाई बाहिर निकाल्दै स्वास्थ्यकर्मी । तस्वीरः झापा टुडे

बिर्तामोड, बैशाख २५ । भेन्टिलेटरसहितको बेड अभाव भएपछि आज शनिबार पनि काठमाडौँबाट एकजना कोरोना संक्रमितलाई झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा हवाइ ‘बेड सिफ्ट’ गरिएको छ ।

हिजो मात्रै एकैदिन दाङ र वीरगञ्जबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ बिएन्डसी ल्याइएको थियो । अन्यतिर भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि हवाइ बेड सिफ्ट गरी बिएन्डसी अस्पतालमा ल्याउने क्रम जारी छ ।

आज शनिबार लामो समयदेखि काठमाडौँमा रहँदै आएका झापा बिर्तामोड–६ का ५२ वर्षीय दिपक आङदेम्बेलाई ह्याम्स अस्पतालबाट बेड सिफ्ट गरी बिएन्डसीमा भर्ना गरिएको जनसम्पर्क प्रमुख प्रमिस गिरीले जानकारी दिए ।

उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियु शैय्या अलग्गै छ ।

बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियु शैय्या छ । तीमध्ये २५ भेन्टिलेटरसहित आइसियु शैय्या कोभिडका बिरामीलाई छुट्याएको र बिरामीको आवश्यकता अनुसार थप गर्दै जाने बताइएको छ।

गिरीका अनुसार यसअघि हिजो दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौ दिनदेखि उपचाररत् ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत् २९ वर्षीय हरि पौड्यालाई ‘हवाई बेड सिफ्ट’ गरी बिएन्डसी अस्पतालमा लगिएको हो ।

बैशाख १५ र २० गते काठमाडौँस्थित ह्याम्स र मनमोहन अस्पतालमा उपचारार्थ दुई संक्रमितलाई थप उपचारार्थ ‘हवाई बेड सिफ्ट’ गरिएको थियो ।

‘भेन्टिलेटरसहित आइसियुका लागि देशभरबाट बिएन्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ, हामी गुणस्तरीय सेवादिन प्रतिबद्ध छौँ,’ जनसम्पर्क अधिकृत गिरीले भने । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलगअलग भेन्टिलेटर सहित आइसियु शैय्याको ब्लग सञ्चालनमा ल्याएको छ ।

विशेषगरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन् । बिएन्डसीमा ६० जना कोभिडका बिरामीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer