२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर ल्याउने


एक्सरे मेसिन पनि सञ्चालनमा आउने

हिमाल खरेल

बिर्तामोड, बैशाख ३० । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ ।

झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

झापामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । संक्रमितको दैनिक मृत्युदर पनि बढिरहेको छ । बैशाख २९ गतेसम्म झापामा संक्रिय संक्रमित २ हजार १३९ जना छन् । बैशाख २९ गते एकै दिन झापामा ३७१ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ । १८ जना मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।

झापासहित अन्य अस्पतालमा अक्सिजन भन्दा पनि अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । बिएन्डसी अस्पताल लगायत केही अस्पतालमा प्लान्ट भए पनि संक्रमितको उपचार गरिरहेका अन्य अस्पतालमा सिलिन्डरमार्फत अक्सिजन दिने गरिएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । त्यसका लागि सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

अभियानले अपुग ३० लाख रुपैयाँका लागि एक व्यक्ति एक सिलिन्डर अभियान सुरु गर्ने भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संघसंस्था तथा सहकारी संघलाई पनि अभियानमा जोडिने बस्नेतले बताए ।

त्यस्तै, झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ ।

२०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ ।

यसअघि पनि अभियानले अघिल्लो वर्षको लक डाउनका बेला विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले ‘एक विपन्न परिवारलाई सहयोग’ भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।

अभियानले झापामा भिटिएम, आडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । संकलन गरिएका स्वाबको परीक्ष्णमा ढिलाइ हुन थालेपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer