२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा जेठ १ बाट औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै बन्द


बिर्तामोड, बैशाख ३० । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख छ ।

झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत निर्देशन दिएको छ । आदेशको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै सवारी साधन र पसल समेत बन्द गरिएको छ । यसअघि झापामा बैशाख २६ गतेसम्म आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि तिमिल्सिनाले बैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका थिए ।

आदेशमा यसो भनिएको छ –

१. सर्वसाधारणका लागि

– औषधि खरिद र उपचार बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने ।
– नेपाल सरकारद्वारा तोकिएको समाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड (नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्ने) को अनिवार्य पालना गर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने ।
– कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसोलसन केन्द्रमा सम्पर्क राख्ने ।

२. कार्यालय सञ्चालन सम्बन्धमा

– अत्यावश्यक सेवा सञ्चालन गर्नेबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायत कार्यालयहरुले सेवा स्थगत गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थिति भई कार्यालयका आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
– सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ बजदेखि १० बजेसम्म तथा बेलुका ५ बजदेखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधानमा आजतजावत गर्न पाउने ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धमा

– बैंक तथा वित्तीय संस्था सम्बन्धमा सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई न्यूनतम कर्मचारीको उपस्थितिमा हप्तामा दुई दिन आलोपालो मिलाई सञ्चालन गर्ने ।
– सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई बचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।

४. पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा

– औषधि स्वास्थ्य सामग्री, इन्धन (पेट्रोल, डिजेल, एलपी ग्यास) बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने
हरियो तरकारी, फलफूल, दूध डेरी स्थानीय तह र स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउन सकिने ।
– सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

५. सवारी साधन सञ्चालन सम्बन्धमा

– अत्यावश्यक सेवा सञ्चालन गर्ने सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ बजदेखि १० बजेसम्म तथा बेलुका ५ बजदेखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधान सञ्चालन गर्न दिइने ।
अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८ बैशाख ३१ गते राति १२ः०० बजे देखि जेठ ७ गते राति १२ बजेसम्म झापा जिल्लाभर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।

– अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूग्धजन्य पदार्थ, पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, बैंक, वित्तीय संस्था, रेडक्रस, दूरसञ्चार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।

६. उद्योग, कल–कारखाना र निर्माण कार्य सञ्चालन सम्बन्धमा

– उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउने, छुट्टै क्वारेन्टिनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने ।
– राष्ट्रिय गौरव र महत्वका आयोजना÷परियोजनाको निर्माण कार्य स्वास्थ्य सुरक्षा मापदण्डका पालना गरी सञ्चालन गर्ने र उक्त कार्यका लागि कामदारलाई निर्माणस्थलमा नै खाने बस्ने व्यवस्था मिलाएर सञ्चालन गर्ने ।

७. विवाह तथा मृत्यु संस्कार सम्बन्धमा

– विवाहको लागि बढीमा १० जनासम्म जन्ती जान आउन दुलाह दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जनासम्म व्यक्ति ब्यानर राखेर प्रयोग गरी जिल्लाभित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति पास आवश्यक नपर्ने ।
– मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नुपर्ने ।

८. सीमा नाका सम्बन्धमा

– सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली नियमित राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने ।

काँकरभिट्टा नाकाबाहेक अन्य नाका तथा गौँडाबाट नेपाल प्रवेशमा पूर्ण रोक लगाउने ।

– काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

९. सभा सम्मेलनको हकमा

– सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरु सञ्चालनमा रोक लगाइने ।
१०. निषेधाज्ञा जारी भए पश्चात जिल्ला प्रशासन कार्यालयबाट जारी भएका यात्रा सहजीकरण सम्बन्धी सबै अनुमतिहरु जेठ १ गतेबाट लागु हुने गरी रद्द गर्ने ।

११. विविध

– सञ्चारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय–पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
– अत्यावश्यक उपयोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानुन बमोजिम कडा कारबाही गर्ने ।

१२. आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer