२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल सुपर लिग: उपाधिका लागि काठमाडौँ र धनगढी भिड्दै


बिर्तामोड, बैशाख ३१ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल भिडन्त काठमाडौँ रेजर्स र धनगढी एफसीबीच हुने भएको छ । फाइनल १ जेठमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै काठमाडौँ रेजर्स फाइनलमा प्रवेश गरेको छ भने धनगढीले काठमाडौँलाई हराएर फाइनल यात्रा तय गरेको हो ।

काठमाडौँले ललितपुरलाई ३–० ले पराजित गर्दै फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । धनगढीले काठमाडौँलाई अतिरिक्त समयमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

लिगमा काठमाडौँले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौँले १–० को जित दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौँको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।

काठमाडौँले प्ले अफको पहिलो खेलमा धनगढीसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । त्यस्तै, ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा रहेको एनएसएलमा ७ सहरका ७ टोलीको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा भएकोे लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।

त्यस्तै, हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer