२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एक व्यक्ति एक सिलिन्डर: पहिलो दिन नौजनाबाट सहयोग प्राप्त


बिर्तामोड, बैशाख ३१ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानको पहिलो दिन नौजनाले सिलिन्डरबापतको नगद सहयोग गरेका छन् ।

अभियानको सचिवालयका कर्मचारी गोपाल भट्टराईका अनुसार अभियानलाई पहिलो सिलिन्डरबापतको रकम बिर्तामोड–२ चारपानेका डिल्लीराम सिटौला र मायादेवी सिटौला दम्पतीले सहयोग गरेका हुन् ।

शुक्रबार पहिलो दिन काठमाडौँका भीमसेन खड्का र कोपिला सिटौला, बुद्धशान्ति–५ शान्तिनगर झापामा रहेको नबोल्ने बा स्मृति प्रतिष्ठान, कनकाई–१ का कृष्ण भण्डारी, बिर्तामोड–१ का दुर्गा ढकालले एउटा सिलिन्डरबापत रकम सहयोग गरेका छन् ।

त्यस्तै, बिर्तामोड सैनिकमोडका कमला मैनाली र भरत पाठक, बिर्तामोड–७ बिरानका डम्बरकुमारी ओली र डिल्लीप्रसाद ओली र बिर्तामोड–२ चारपानेका तिलकबहादुर गिरी र देवीमाया गिरी तथा शनिश्चरे माविका २०४१ का एसएलसी ब्याचीहरुले पहिलो दिन सिलिन्डरबापतको सहयोग गरेको भट्टराईले जानकारी दिए ।

एउटा अक्सिजन सिलिन्डरबापत १५ हजार रुपैयाँ सहयोग गर्नुपर्ने अभियानले जनाएको छ । झापामा पनि अक्सिजन अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

झापामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । संक्रमितको दैनिक मृत्युदर पनि बढिरहेको छ ।
अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । त्यसका लागि सहारा नेपालको टिमले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

अभियानले अपुग ३० लाख रुपैयाँका लागि एक व्यक्ति एक सिलिन्डर अभियान सुरु गरेको हो । त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, वित्तीय संघसंस्था तथा सहकारी संघलाई पनि अभियानमा जोडिने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer