२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय


बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहको बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने निर्णय भएको छ ।

प्रस्तावित सो मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको निर्णय गरिएको र सो अनुसार सिफारिसका लागि चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को बैशाख ३१ गतेको बैठकले बिएन्डसीलाई सम्बन्धनको निर्णयका लागि सिफारिस गर्ने निर्णय गरी सोमबार आयोगलाई पत्राचार गरेको थियो ।

विश्वविद्यालयको ८९ औँ बैठकले नै बिएन्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको र विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले बैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेको जनाएको छ ।

विश्वविद्यालयको विज्ञ टोलीले निरीक्षण गरी प्रतिवेदन तयार पारी बिएन्डसीलाई चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ को ६ अनुसार विश्वविद्यालयले सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि आयोगबाट निर्णय गर्न पत्राचार गरिएको छ ।

चिकित्सा शिक्षा ऐनको दफा ६ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाडौँ उपत्यकाबाहिरका अन्य शिक्षा संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन ।’

ऐनमा व्यवस्था भएअनुसार अब चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयबाट भएका निर्णय, प्रतिवेदन र बिएन्डसीले बुझाएका कागजपत्रका आधारमा प्रक्रिया अगाडि बढाउनेछ । आयोगले ऐनअनुसार विश्वविद्यालयलाई सम्बन्धन र सिट संख्या दिन मिल्ने वा नमिल्ने निर्णय गर्नेछ ।

आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले विश्वविद्यालयले निर्णय गरेको पत्र आयोगमा प्राप्त भएको जानकारी दिए । तर, उक्त पत्रको विषयमा आयोगले कुनै निर्णय भने नगरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer