२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मुखिया परिवारद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग


बिर्तामोड, जेठ ४ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत बिर्तामोडको मुखिया परिवारले ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कान्तिपुर टिभीका सम्वाददाता गणेशमान मुखिया र महासंघ झापाका निवर्तमान सहसचिव तथा नेपाल टेलिभिजनका सम्वाददाता इन्द्रजीत मुखियाले सो रकम प्रदान गरेका हुन् ।

गणेशमान पहिलो लहरको कोरोना कहरमा संक्रमित भएका थिए । संक्रमित हुँदा आफूले जस्तै अरुले पीडा भोग्नु नपरोस् भनेर अक्सिजन सिलिन्डरका लागि रकम सहयोग गरेको उनले बताए ।

त्यस्तै, इन्द्रजीतले पत्नी अनिता, छोरा अदिप र छोरी इश्माका तर्फबाट एक थान सिलिन्डरबापत १५ हजार रुपैयाँ प्रदान गरेका छन् । मुखियाका नातेदार सुमित्रा मुखिया, मेरिना मुखिया र सञ्जीव मुखियाले समेत एक/एक थान सिलिन्डरको रकम प्रदान गरेका छन् ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्कालाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।

अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer