२०७८ असार ९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीलाई सम्बन्धन : मेचीमा बल्ल बस्यो मेडिकल उच्च शिक्षाको जग


बिर्तामोड, जेठ ६ । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ ।

झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले स्नातक तह (एमबिबिएस) कक्षा सञ्चालनार्थ सम्बन्धन प्राप्त गरेसँगै मेचीमा मेडिकल उच्च शिक्षाको जग बसेको हो ।

काठमाडौँ विश्वविद्यालयको ८९ औँ बैठकले सो कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको थियो । विज्ञ सम्मिलित टोलीले गत बैशाख २२ देखि २६ गतेसम्म विश्वविद्यालयको ‘नम्स एन्ड स्ट्यान्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ मा तोकिएका मापदण्ड अनुसार कलेजको निरीक्षण गरी प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा विश्वविद्यालयले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ (६) अनुसार कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विश्वविद्यालको कार्यकारी परिषद्को गत बैशाख ३१ गते सम्पन्न ६२५ औँ बैठकले कलेजलाई सहमति दिने तथा सिट संख्यासहित आवश्यक स्वीकृतिको निर्णय गरिदिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार समेत गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुबोध शर्माद्वारा हस्ताक्षरित पत्र यही जेठ २ गते आयोगलाई पठाइएको बताइएको छ ।

कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा बिएन्डसी मेडिकल कलेजले काठमाडौँ विश्वविद्यालयको ‘नम्स एन्ड स्ट्याण्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ मा तोकिएका मापदण्ड र चिकित्सा शिक्षा ऐन २०७५ का आधारमा सम्बन्धनको सहमति प्राप्त गरेको जनाइएको छ ।

‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौँ उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्राबधान लागु हुने छैन । काठमाडौँ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन’, चिकित्सा शिक्षालाई अझ व्यवस्थित बनाउन कार्यान्वयनमा आएको बहुचर्चित ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ मा ती बुँदा उल्ल्लेख छ । सरकारले सो ऐन विसं २०७५ फागुन १० गते जारी गरेको थियो ।

विज्ञप्तिमा बिएन्डसी कलेज काठमाडौँ विश्वविद्यालयको ‘नम्स एन्ड स्ट्यान्डर्स फर एमबिबिएस प्रोग्राम २०१३’ नेपाल मेडिकल काउन्सिलको एग्रिडिटेसन स्ट्यान्डर्स फर दि एमबिबिएस (ब्याचलर अफ मेडिसियन एन्ड ब्याचलर अफ सर्जरी प्रोग्राम २०१७) मा उल्लेखित सम्पूर्ण सर्त पूरा गर्न तयार भएको उल्लेख छ ।

सिट संख्या निर्धारण गर्न माग

कार्यकारी निर्देशक प्रसाईंले विज्ञप्तिमा एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जनाउँदै कोटा (सिट) संख्या निर्धारण गरिदिन चिकित्सा शिक्षा आयोगसँग माग गरेका छन् ।

उनका अनुसार पठनपाठनका लागि भवन तथा अस्पताल तयारी अवस्थामा रहेको र अध्यापन गराउने विभागीय जनशक्ति (फ्याकल्टि मेम्बर) नियुक्त हुने अवस्थामा छन् ।

कलेजको झापा धाइजनमा २२ बिघा जमिन, यसमा बनेका विशाल संरचना, बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर र बिएन्डसी अस्पताल गरी कुल ९०० शैय्या, ती अस्पतालमा दैनिक एक हजार ३०० भन्दा बढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० संख्यामा सिटीस्क्यान तथा ४० भन्दा बढी एमआरआइ हुने गर्छ ।

पछिल्लो समय अस्पतालले मिर्गौला तथा मुटुरोग प्रत्यारोपणको तयारी गर्दैछ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीलाई निःशुल्क सेवा समेत प्रदान गरिराखेको छ ।

साथै, कोरोना महामारीलाई ध्यान दिँदै अस्पतालले कोरोना संक्रमितलाई उपचार गर्न २०० शैय्या सञ्चालनमा ल्याएको छ । भेन्टिलेटर, एचडियु, आइसियु तथा अक्सिजनको हालसम्म अभाव नरहेको सो अस्पतालमा २२ कोरोना संक्रमित ‘हवाई लिफ्ट’ गरी उपचार गर्न पुगेका छन् । अस्पताललले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी पनि गर्दैछ ।

कलेजका प्राचार्य प्राडा उमेश शर्माले एमबिबिएस पठनपाठनका लागि आवश्यक पूर्वाधार काठमाडौँको भन्दा उच्च र विशिष्टिकृत रहेको दाबी गरे । उनले भने, ‘एमबिबिएस पठनपाठनका लागि तयारी पूरा भएको छ । हाम्रो पूर्वाधार एमडी/एमएसका लागि पनि छ । नीति निर्माण तहमा रहेकालाई एकपटक बिर्तामोड आएर अस्पताल, उपकरण, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीसहित भौतिक पूर्वाधार तथा मापदण्ड हेरिदिन आग्रह गर्छु ।’

नाफा होइन, सेवामा समर्पित छु – कार्यकारी निर्देशक प्रसाईं

कार्यकारी निर्देशक प्रसाईंले आफ्नो कलेजले नीति र विधिभित्र रहेर सम्बन्धन पाएको विज्ञप्तिमा जनाएका छन् । उनले भनेका छन्, ‘ऐन अनुसार कलेजले सम्बन्धन पाएको छ । अब सरकारी शुल्कमा गुणस्तरीय चिकित्सा शिक्षा दिन्छौँ । स्वदेशमै दक्ष चिकित्सक उत्पादन गर्छौं । मैले चिकित्सा ऐन जारी हुनुपूर्व नै सम्बन्धन पाऔँ भनेर निवेदन दिएको हुँ ।’

कलेजले मापदण्ड तथा पूर्वाधार तयार गरी सम्बन्धनका लागि सो विश्वविद्यालय समक्ष विसं २०७३ फागुन १५ गते निवेदन दिएको थियो । साथै, चिकित्सा शिक्षा ऐन जारी भएपछि गठन भएको सो आयोगमा एमबिबिएस सिट निर्धारणका लागि कलेजले आवश्यक कागजातपत्र सहित विसं २०७६ फागुन १ गते निवेदन दिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिएक लाख जनसंख्या बराबर छ चिकित्सक मात्र उपलब्धता छ । तीमध्ये अधिकांश सहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण क्षेत्रमा सधैँ चिकित्सकको अभाव हुँदै आएको छ ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘विपन्न जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन चिकित्सक उत्पादनमा सरकारी तथा निजी लगानी बृद्धि गर्नु आवश्यक छ । सरकारको नीति र नियम अक्षरशः पालन गर्न बिएन्डसी प्रतिबद्ध छ । करिब ३२ लाख जनसंख्या रहेको मेचीले एउटा पनि मेडिकल कलेज नपाउनु पर्ने कारण के हो ? कोरोना महामारीमा बिरामीको सेवा गर्ने कि भएका संरचनालाई ध्वस्त बनाउन लाग्ने ? म आफैँ क्यान्सरलाई जितेर नयाँ जीवन प्राप्त गरेको व्यक्ति हुँ, बिरामीका छट्पटी कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ । यही पीडाले जायजेथा बैँकमा राखेर मेडिकल शिक्षामा लगानी गरेको हुँ ।’

झापामा मेडिकल कलेज सञ्चालन हुने विषय विद्वान र सचेत वर्गले टाउको दुखाउन आवश्यक नरहेको र काठमाडौँमा बसेर बिएन्डसीका बारेमा अनावश्यक धारणा नबनाउन विज्ञप्तिमा उनले आग्रह समेत गरेका छन् । (जनतापाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*