२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कुवेत पुग्यो नेपाली फुटबल टोली


बिर्तामोड, जेठ १७ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टिम कुवेत पुगेको छ ।

नेपाली टोली स्थानीय समय अनुसार आइतबार साँझ ८ बजे कुवेत पुगेको हो । स्थलमार्ग हुँदै दुई घण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगेको नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

कुवेतमा नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल न्युट्रल भेन्युका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज ताइपेइ पनि आइतबार कुवेत पुगिसकेको छ ।

कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरियतामा १०३ औँ स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer