२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यसपालिको मनसुन खतरायुक्त- डा. पोखरेल


बिर्तामोड, जेठ १९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग–व्याधिले धेरैलाई असर गर्न सक्ने बताएका हुन् ।

उनले दक्षिण एसियाको मौसमसम्बन्धी आउट लुकमा गरिएको पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना भएको हुँदा यस वर्ष विपद्को घटना बढ्न सक्ने बताए ।

उनले भने, ‘पोहोरभन्दा यसपालि झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नु प¥यो । मौसम आउट लुकमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको छ, यही कारण यो वर्ष झन् गाह्रो छ । बाढी, पहिरोको घटना र अन्य रोग–व्याधिका घटना नि बढ्ने देखेका छौँ ।’

डा. पोखरेलले बाढी, पहिरो, रोग–व्याधि, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपदबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्ती छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘हरेक व्यक्ति, समुदायको आआफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्ती छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । तयारी सुरु गरौँ ।’

उनले विपदबाट बच्न र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेसित गर्ने सन्देश निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer