२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकप छनोटको फेहरिस्त: आज ताइपेईविरुद्ध जित निकाल्ने नेपालको लक्ष्य


बिर्तामोड, जेठ २० । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गतको समूह ‘बि’ को खेलमा आज बिहीबार नेपाल र चाइनिज ताइपेइ प्रतिस्पर्धामा उत्रँदैछन् ।

कुवेतको राजधानी कुवेत सिटीस्थित जाबेद अल–अहमेद इन्टरनेशनल स्टेडियममा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण सुरु हुन लागेको हो । कुवेतमा हुने समूह बिको छनोट खेलमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ । नेपाल अंक गणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।

अस्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्मको चार खेलमा शतप्रतिशत जितको नतिजासहित अस्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ । ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जितबाट ३ अंक जोडेको छ र चाइनिज ताइपेई पाँचौँ खेल हार्दा अंकविहीन छ ।

कडा प्रतिस्पर्धा हुने प्रशिक्षकको आँकलन

नेपाली टोली प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले प्रिम्याच कन्फ्रेन्समा कडा प्रतिस्पर्धा हुने बताए । कुवेतको मौसममा खेल्नु सहज नभएको र दुवै टिमका लागि यो खेल कठिन हुने अलमुताइरीको भनाइ थियो ।

उनले नेपाली टोलीले धेरैवटा मैत्रीपूर्ण खेलहरु नखेलेकाले कठिन हुनसक्ने बताएका हुन् । ‘हामीले धेरै मैत्रीपूर्ण खेलहरु खेलेका छैनौँ । हामीसँग युवा तर ट्यालेन्टेड खेलाडीको टिम छ । तर उनीहरुलाई प्रेसर दिने अवस्था छैन,’ अलमुताइरीले भने ।

यस्तो छ छनोट रणनीति

यसैबीच, समूह बि का शीर्ष ३ टिम समूह विजेता बन्दै विश्वकपको तेस्रो चरणमा पुगेर एसिया कपमा सिधै छनोट हुन चाहन्छन् । नेपाल र चाइनिज ताइपेई भने समूहमा चौथो बन्ने एसियाका ८ टिममध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

एसियामा कुल २४ टिमले अन्तिम चरणको छनोट खेल्नेछ भने त्यसबाट १२ टिम चीनमा हुने एसिया कपमा छनोट हुनेछ । नेपालको अहिलेको लक्ष्य भनेको विश्वकप नभई एसिया कपमा छनोट हुने हो र चाइनिज ताइपेईको चाहना पनि त्यही हो ।

अर्कोतर्फ समूह एमा रहेको उत्तर कोरियाले छनोट चरणका बाँकी खेल नखेल्ने निर्णय गरेपछि यसको पूरा असर बाँकी ७ टिमलाई परेको छ ।

सबै समूहको अंकको हिसाब मिलाउन एएफसीले समूह चरणका सबै खेल सकिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौँ हुने टिमको खेलको अंक नगन्ने निर्णय गरेको छ । त्यस्तै, चौथो हुने र पाँचौँ हुने बीचको खेलको नतिजा पनि गणना हुने छैन । उत्तर कोरियाले यसअघि खेलेका सबै खेलको नतिजा रद्द भएको छ भने बाँकी खेल पनि रद्द गरिएको छ ।

यस्तो अवस्थामा अब नेपालले समूहमा चौथो हुँदै ८ मध्ये उत्कृष्ट चारमा पर्न चाइनिज ताइपेईलाई हराएर मात्र हुँदैन जोर्डनलाई समेत हराउनुपर्ने दबाब छ ।

नेपालले आफूसँग भएको ३ अंक समूहको अन्तिममा रहेको चाइनिज ताइपेईविरुद्ध जोडेको थियो । त्यसैले, ८ वटै टिमको चौथो स्थानमा रहने टिमहरुमध्ये नेपाल अहिले आठौँ स्थानमा छ । शीर्ष चारमा पर्न कम्तिमा पनि नेपालले जोर्डनलाई हराउनैपर्नेछ, जुन नेपालको लागि कठिन छ ।

जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेल्दा २ मा हार बेहोरेको छ भने एक खेल बराबरी गरेको छ ।

अहिले खेल हुने कुवेत जोर्डनको लागि सुहाउँदो छ भने नेपालको लागि उच्च तापक्रममा खेल्नु चुनौती नै छ । भलै नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेतको वातावरणमा केही अभ्यस्त हुने अवसर पाएको छ ।

चाइनिज ताइपेईको लागि पनि नेपाललाई हराएर मात्र हुने छैन उत्कृष्ट चौथो हुने हो भने जोर्डनलाई पनि हराउनुपर्नेछ ।

यदि चौथो स्थानमा रहेर सबै समूहको चौथोमध्ये उत्कृष्ट चारमा पर्न नसकेको नेपाल वा चाइनिज ताइपेई जो भए पनि एसिया कपको तेस्रो चरणमा पुग्ने सिधा बाटो बन्द हुनेछ ।

यस्तो अवस्थामा फेरि प्लेअफ खेल्दै तेस्रो चरणको छनोटमा पुग्ने अवसर त हुनेछ तर त्यो उत्तिकै कठिन पनि हुनेछ । प्लेअफका खेलहरु दुई लेगको र नकआउट हुनेछ । प्लेअफ पनि दुई चरणमा हुनेछ । पहिलो चरणमा प्लेअफ हार्नेले अर्को अवसर पनि पाउनेछ ।

चाइनिज ताइपेईसँग नेपाल अपराजित

अहिलेसम्म चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । नेपालले विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईलाई हराएको थियो भने एक मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा निकालेको थियो ।

नेपाल र चाइनिज ताइपेई पहिलोपटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । यस्तै २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवैजना नेपाली टोलीसँगै कुवेतमा छन् ।

छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । चाइनिज ताइपेई विरुद्ध खेलेका १० खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

फिफा वरियतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरियतामा नेपाल १७१ औँ स्थानमा छ । चाइनिज ताइपेई १४१ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer