२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जोर्डनसँग नेपाल फेरि पराजित


बिर्तामोड, जेठ २५ । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत कुवेतमा सम्पन्न समूह बि को खेलमा नेपाली फुटबल टोली जोर्डनसँग पराजित भएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे । समूह बी को खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको हो ।

खेलको सुरुबाटै आक्रामक देखिएको जोर्डनले खेलको २३ औँ मिनेटमा अग्रता बनाएको थियो । पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्डनका बाह फैसल अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलले अघि रहेको जोर्डनका लागि दोस्रो गोल पनि फैसलले नै ४८ औँ मिनेटमा गरेका थिए । त्यस्तै, याजन अलअरबले ६७ औँ मिनेटमा गोल थप्दा जोर्डनले ३–० को जित निकालेको हो ।

नेपालका लागि दोस्रो हाफमा अञ्जन बिष्टले पाएको राम्रो अवसरमा पोस्ट बाहिर प्रहार गरेका थिए भने इन्ज्युरीसममा जोर्डनका गोलकिपरलाई बिट गरिसकेका नवयुग श्रेष्ठ बक्समा लडेका थिए ।

फिफा वरियतामा ९५ औँ स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो । विश्वकप छनोटकै यसअघिको खेलमा पनि जोर्डनले नेपालमाथि ३–० को गोलअन्तरले जित निकालेको थियो ।

जितसँगै जोर्डनले ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानमा १५ अंक जोडेको अस्ट्रेलिया छ भने तेस्रो स्थानमा १० अंक जोडेको कुवेत छ । त्यस्तै ६ अंक जोडेको नेपाल चौथो स्थानमा र जितविहीन चाइनिज ताइपेइ अंकतालिकाको पुछारमा छन् ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्धको खेलमा ३ परिवर्तन गर्दै ५ डिफेन्डर खेलाएका थिए । तर, विकास खवास आघा घण्टा पनि मैदानमा टिक्न सकेनन् र उनलाई मैदान बाहिर ल्याउनुपरेको थियो । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ।

त्यस्तै, विकाससँगै अभिषेक रिजाल र दिनेश राजवंशीले जोर्डनविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । दोस्रो हाफमा नवयुग श्रेष्ठ, मनिस डाँगी, विशाल राई र एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।

समूह बि मा नेपालले सातौँ खेल खेल्दा यो पाँचौँ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । कुवेतविरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अस्ट्रेलियाविरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेइविरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।

जोर्डनसँग हारपछि नेपालको एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ । कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना अब सकिएको छ ।

नेपालले अब २०२३ मा चीनमा हुने एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने लगभग पक्का भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।

‘पेनाल्टी नदिएको भए नतिजा फरक हुन सक्थ्यो’ – प्रशिक्षक अब्दुल्लाह

नेपाली फुटबल टोलीले जोर्डनसँगको खेलमा पराजय व्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको नतिजा खराब भएको प्रतिक्रिया दिए ।

‘आज हामीले राम्रो खेलेका थियौँ । पहिलो हाफमा एउटै गल्ती भयो, पेनाल्टी । यदि त्यो पेनाल्टी थिएन भने नतिजा फरक हुन सक्थ्यो’, प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले हाम्रो खेलाडीको पनि ध्यान राख्नुपर्ने हुन्छ । यसमा खेलाडीलाई दोष दिनुहुँदैन, उनीहरुले भर्खर त साँच्चिकै फुटबल खेल्न थाल्दैछन् ।’

अब अगाडिको अर्को खेलमा अस्ट्रेलियासँग पनि यस्तै खेल खेलाउने उनले बताए । ‘अस्ट्रेलियाले कुवेतसँग खेलेको थियो, जसमा कुवेतले धेरै डिफेन्सिभ खेलेको थियो । र, अस्ट्रेलियाले ३–० ले जितेको थियो । म यदि हार्छु भने सम्मानसँग हार्छु’, उनले भने, ‘म सन्तुलित फुटबल चाहन्छु । म अस्ट्रेलियासँग पनि यस्तै खेलाउने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer