२०८१ मंसिर ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा अभियानद्वारा स्थापित अक्सिजन बैंकको उद्घाटन


बिर्तामोड, जेठ २७ । झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत रकम संकलन गरेर अक्सिजन सिलिन्डर बैंक स्थापना गरेको छ ।

एक औपचारिक कार्यक्रमका बीच सहारा नेपालको मुख्य कार्यालयमा बैंक स्थापना गरिएको हो । बैंक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिना, प्रहरी प्रमुख सानुराम भट्टराई, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललगायतको उपस्थिति रहेको थियो ।

अभियानले कोभिड संक्रमितलाई अक्सिजन अभाव हुन नदिन जेठ १ गतेदेखि सिलिन्डर सहयोग अभियान सुरु भएको थियो । अभियानले झापासहित नेपाल र विदेशमा रहेका झापालीबाट सहयोग संकलन गरेको थियो ।

पाँचसय वटा सिलिन्डरसहितको अक्सिजन बैंक बुधबारदेखि सञ्चालनमा आएको हो । अभियानलाई आजसम्म व्यक्तिगत तथा संस्थागत रुपमा अक्सिजन सिलिन्डरबापतको रकम देश तथा विदेशबाट हस्तान्तरण भइरहेको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार अभियानअन्तर्गत बुधबारसम्म एक हजार २५ वटा सिलिन्डर बापतको सहयोग रकम संकलन भइसकेको छ । झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो ।

अभियानले पहिलो चरणमा पूर्वघोषणा अनुसार ५ सय वटा सिलिन्डर खरिद गरेको छ । ४० लिटर क्षमताका सिलिन्डर चीनबाट खरिद गरी ल्याइएका हुन् । अभियानमा प्रतिसिलिन्डर १५ हजार रुपैयाँका दरले सहयोग रकम जुटाइएको छ ।

अभियानलाई अक्सिजन सिलिन्डरबापत सहयोग गर्ने रोटरी क्लब अफ बिर्तामोड मिडटाउन सबैभन्दा ठुलो संस्था भएको हो । उसले १०१ वटा सिलिन्डरबापतको रकम हस्तान्तरण गरेको थियो । सहारा नेपाल साकोस र अन्तर्राष्ट्रिय झापाली समाजले एकएक सय थान अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।

अक्सिजन बैंकबाट सर्वसाधारणले नगद ८ सय रुपैयाँमा एउटा सिलिन्डर प्राप्त गर्न सक्ने बैंक सञ्चालन समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए । यो रकमे अक्सिजन रिफिल गरेको र ढुवानी खर्च मात्र रहेको उनले बताए ।

अभियानले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका आइसोलेसन सेन्टर र डाक्टरको पुर्जा एवम् समन्वयमा अक्सिजन सिलिन्डर कोभिड तथा नन–कोभिड बिरामीलाई वितरण गरिरहेको संयोजक गिरीले बताए । वितरण सहज बनाउन केही दिनभित्रै कार्यविधि बनाइने बताइएको छ ।

अभियानले ठुलो मात्रामा सिलिन्डर खरिद गरी ल्याएपछि जिल्लामा अक्सिजन अभावको सम्भावना तत्काललाई टरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको भनाइ छ । झापामा उद्योगी तथा व्यापारीले पनि आफूसँग भएको सिलिन्डर चलाउन दिएका छन् ।

हाल झापाका लागि अक्सिजन भर्न सिलिन्डर सुनसरी पठाउनुपर्ने बाध्यता रहेकाले अभियानले अक्सिजन प्लान्ट स्थापना गर्न सके जिल्लाबासीलाई ठुलो राहत हुने तिमिल्सिनाको सुझाव छ ।

२०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ । संकलन गरिएका स्वाबको परीक्ष्णमा ढिलाइ हुन थालेपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।

अभियानले अघिल्लो वर्षको लक डाउनका बेला विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले ‘एक विपन्न परिवारलाई सहयोग’ भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।

अभियानले झापामा भिटिएम, आडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।
अभियानले गत वर्ष जिल्लाका करिब ५ हजार परिवारलाई खाद्यन्न प्याकेज, क्वारेन्टिन, होल्डिङ र अलपत्र परेका मजदुरलाई १० हजार छाक खाना खुवाएको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer