२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लैंगिक विभेद तोडेकी नेपालकी अनिता एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडर


बिर्तामोड, असार ४ । आधुनिक नेपालमा पनि महिला र पुरुषबीच विभद कायमै छ । खेलमा पनि यसका केही अंशहरु देखिन्छन् । यसको प्रत्यक्ष भोगाइ अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी काठमाडौँकी अनिता महर्जनसँग छ ।

आफ्नो बाल्यकाल र सुरुवाती खेल अभ्यासमा आफ्नै समुदायबाट लैंगिक विभेदमा परेकी उनै अनिता नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले अनितालाई ३ बर्षका लागि नेपालको आफ्नो एम्बसेडर नियुक्त गरेको बताइएको छ ।

यसरी हुर्किएकी महर्जनले विभेदको चेन तोड्ने र आफ्को सपना पछ्याउने निर्णय गरिन् । ६ अप्रिल २०२१ मा महर्जन र उनको परिवारले नेपालमा उनको क्लब एन्निज क्लबको भव्य उद्घाटन गरे । ठमेलमा जन्मिएकी अनितालाई साथीभाइ र आफन्तले माया गरेर एन्नी भन्ने गर्छन् ।

‘मैले टेबुल टेनिस मात्र खेलिनँ, मैले केटाहरूले भन्दा राम्रो खेलेँ’, महर्जन भन्छिन् । कलिलै उमेरमै टेबल टेनिस खेल्न थालेकी महर्जनलाई आफ्नो समुदायमा किशोरावस्थादेखि नै विद्रोही ठानिन्थ्यो ।

उनी खेलमा प्रवेश गर्दा समाज महिलाहरूका लागि थिएन । उनको संस्कृतिमा, महिलाहरूलाई विशेष तरिकाले व्यवहार गर्ने र घरको चारघेरामा सीमित राख्ने गरिन्थ्यो । टेबल टेनिस करियरमा महर्जन लगातार उनका पुरुष टिमका साथीहरुद्वारा दबिएर बस्न बाध्य भइन् ।

‘म महिला भएकै कारण कसैले पनि मलाई गम्भीरताका साथ लिएन । अभ्यासका क्रममा पुरुषहरुले मेरा खिल्ली उडाउँथे’, महर्जन भन्छिन्, तर, जब मैले एक अन्तर क्लब टेबल टेनिस प्रतियोगितामा रजत पदक जितेँ तब मात्र परिवर्तन सुरु भयो ।’ सो खेलमा उनले शीर्ष १० पुरुष खेलाडीहरूमध्ये एकजनालाई हराएकी थिइन् ।

उनै अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी महर्जनलाई एरोविकले पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबल टेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबल टेनिस खेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबल टेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । एरोविक टेबलटेनिस उच्च इनर्जी फिटनेस वर्कआउट र टेबल टेनिसको सामुहिक गठबन्धन हो ।

जुलाई १५ मा एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको अनिताले जानकारी दिइन् । उनका अनुसार त्यो प्रशिक्षणमा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्झौता छ ।

साथै, एरोविकले खेलाडीका लागि टेबल टेनिसको स्तरीय ब्रान्ड बटरफ्लाई कम्पनीको खेल पोसाक, ¥याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोवोट मेसिन समेत प्रदान गर्ने उल्लेख गरेको अनिताले बताइन् ।

अनिताले सामाखुसीस्थित आफ्नै घरमा टेबल टेनिस डेको अवसर पारेर १५ लाखको लागतमा एन्निज पिङपङ क्लब स्थापना गरी बच्चाहरुलाई निःशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छिन् । हाल क्लबमा तीन टेबल टेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिइरहेका छन् ।

व्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियालिरहेको अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मूल्यांकन गर्दै विश्व टेबल टेनिस डेको अवसरमा आफ्नो जर्नलमा अनिताको बारेमा लेख समेत प्रकाशित गरेको थियो ।

सो लेखमा उनले सुरुवाती दिनमा भोग्नु परेको लैंगिक विभेदका विषयदेखिउनका संघर्ष र क्लब स्थापनासम्मका कुरा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer