२०७८ भदौ ३१ बिहिबार
Jhapa Today
Adv top
Adv below_nav

तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन् ?


-पुष्पा थपलिया

बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल्यापटपजस्ता छुट्टै उपकरण चाहिने भएको छ।

हामीले बाँचेको समयलाई अब ‘कोरानाकाल’ र ‘कोरोनाकाल अगाडि’ भनेर वर्गीकरण गर्न सक्छौं। कोरोना महामारीसँग विश्वभरिका मान्छेको जीवनशैली बदलिनु नै यो वर्गीकरणको मुख्य आधार हो। महामारीका कारण अन्य व्यक्तिसँगै बालबालिकाको जीवनशैली पनि फेरिएको छ।

बालबालिका दिनभरजसो मोबाइलमै व्यस्त हुन्छन्। के हेर्छन् वा पढ्छन् वा खेल्छन्, त्यो अर्को विषय हो। बरु विद्यालय जान थालिनसकेका बालबालिकामा पनि मोबाइलको लत बसेको छ। बालबालिकाको मोबाइल प्रयोगसम्बन्धी दुई वटा फरक घटनाबाट चर्चा थालौँ।

पाँच वर्षीय छोराले झगडा गर्दा धादिङकी सविता तिवारी मोबाइल दिएर फकाउँथिन्। पछि खाना खाँदा पनि छोरालाई मोबाइल चाहिन थाल्यो। उनको फोन छोराकै हातमा हुन्थ्यो। कसैको फोन आइहाले काटिदिन्थ्यो। फोन आएको उनले थाहै पाउँदिन थिइन्। जस कारण महत्वपूर्ण काम छुट्न थाले।

अहिले त फोन गर्नका लागि पनि छोराको हातबाट मोबाइल खोस्नुपर्छ। मोबाइलकै लागि छोराले झगडा गरिरहन्छ। मोबाइल चलाउने छोराको लतकै कारण उनलाई साथीसर्कलबाट टाढा हुन थालेको महसुस भएको छ।

धादिङकै कविता पाठककी छोरी पनि दिनभर मोबाइल चलाउँछिन्। ११ वर्षीया बालिकाले दिनभर मोबाइल चलाउँदा पनि अविभावकलाई खासै चासो छैन। बरु गर्वको बिषय बनेको छ।

कविताका अनुसार, दिनभरजसो छोरीको अनलाइन कक्षा हुन्छ। कहिलेकाहीं इन्टरनेट नहुँदा कक्षा अवरोध हुन्छ। अनि राति ८/९ बजेसम्म पनि अतिरिक्त कक्षा भएको बताउँदै मोबाइल चलाइरहन्छिन्।

‘छोरी पहिले पढ्न उति मन गर्दिनथिन्, अनलाइनबाट पढाइ हुन थालेदेखि ध्यान दिएकी छिन्,’ कविता गर्व गरेर सुनाउँछिन्। छारीको पढाइबारे उनी छरछिमेकमा पनि यस्तै सुनाउँछिन्। तर, छोरीले के पढिरहेकी छिन् र पढाइ भएको छ वा छैन कविताले चासो दिएकी छैनन्।

अनलाइन कक्षा सुरु भएपछि बालबालिकालाई मोबाइल त आवश्यक नै भयो। यसले उनीहरुलाई पढाइ र साथीहरुसँग जोडेको छ। प्रविधि चलाउन सिकाउने शिक्षकले नै उनीहरुलाई उपकरणबारे ज्ञान दिन्छन्। धेरै त चलाएरै सिक्छन्। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स पनि अब बालबालिकालाई प्रविधिबाट टाढा राख्न नसकिने बताउँछन्। तर, मोबाइलबाट बालबालिकालाई हुने हानीबारे पनि छलफल गर्नु आवश्यक हुन्छ।

मोबाइल युगभन्दा अघि हुर्किएका कतिपय आमाबाबु यस्ता पनि होलान्, जो किताब पढेको छु भन्ने देखाएर किताबभित्र विभिन्न गसिप पत्रिका या सत्य, तिलस्मी कथा पढेर हुर्किए। अहिले उनीहरुका छोराछोरी त्यसरी नै उनीहरुलाई छलिरहेका हुनसक्छन्। माध्यम फरक हो, बालबालिकाले गर्ने हर्कत भने पुरानै छ।

उनीहरु पढाइको आवरणमा नराम्रा लिंक क्लिक गर्न पुग्ने, लोटरी पर्ने आशमा बिभिन्न वेवसाइटमा पुग्ने र ठगिने, साइबर बुलिङमा पर्ने वा जानेर नजानेर डिजिटल अपराधमा फसिरहेका हुनसक्छन्।

यसका लागि बालबालिका हैन, अभिभावक नै सचेत हुन जरुरी छ। अन्तराष्ट्रिय जगतमा यतिबेला डिजिटल प्यारेन्टिङको चर्चा सुरु भएको छ। नेपालका केहि अभिभावकले पनि डिजिटल प्यारेन्टिङका बारेमा चर्चा सुरु गरेका छन्।

यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।

१. बालबालिकासँग अन्तक्रिया गरिरहनुहोस्
आफ्ना बालबालिकासँग नियमित रुपमा अनलाइन क्रियाकलापबारे कुराकानी या अन्तक्रिया गरिरहनुपर्छ। यसले बालबालिकामा सकारात्मक प्रभाव पार्छ। यसरी अन्तक्रिया गर्दा अनलाइन क्रियाकलापमा बालबालिकासँगै तपाईंको पनि अनिवार्य सहभागिता हुन्छ। कुनै बालबालिकालाई अनलाइन खेल निकै मनपर्छ। उनीहरुसँग तपाईं पनि खेल्नुहोस्। यसबाट आफ्ना बालबालिकाको साथीसर्कल फेला पार्नुहोस्। उनिहरुसँग पनि कुराकानी गर्नुहोस्। यसले तपाईंको बालबालिकाको दिमागमा के कुरा खेलिरहेको छ भन्ने थाहा पाउन सजिलो हुन्छ।

२.प्राविधिक ज्ञानलाई अपडेट गरिरहनुहोस्
यो नेपाल जस्तो साक्षरतादर कम भएको देशका अभिभावकलाई मुस्किलको काम हो। तर, प्राविधिक ज्ञानलाई अपडेट नगरे बालबालिकाका क्रियाकलाप निगरानी गर्न सकिँदैन। भर्खरै जन्मेका बच्चासमेत मोबाइलको ‘लक’ खोलेर युट्युब लगाउन सक्छन्। यसबाट पनि उनीहरुको दिमाग प्रविधिमा कति अगाडि छ भन्ने अनुमान लगाउन सकिन्छ। त्यसैले बालबालिकाभन्दा एक कदम अगाडि प्राविधिक ज्ञान हासिल गर्न अभिभावकलाई अनिवार्य छ।

३. बालबालिकालाई अनलाइन प्रयोग र उपयोगिता सिकाउनुहोस्
बालबालिकालाई अनलाइनको प्रयोग र उपयोगिता आफैं सिकाउन सुरु गर्नुहोस्। उनिहरुलाई नै सिक्न छाडिदिँदा गलत बाटोतिर जान सक्छन्। आफैंले सिकाउँदा इन्टरनेटको प्रयोग सही तरिकाले गर्न जान्दछन्। उनीहरुलाई इन्टरनेटको सुरक्षित प्रयोग गर्न सिकाउनुस्। साइबार बुलिङबारे पनि राम्रोसँग जानकारी दिनुहोस्।

४. इन्टरनेट प्रयोगको समयसीमा निर्धारण गर्नुहोस्
बालबालिकालाई कति समय इन्टरनेटमा राख्ने भन्ने अभिभावककै हातमा हुन्छ। त्यसैले निश्चित समयसीमाभित्र मात्रै इन्टरनेटको पहुँच दिनुहोस्। यदि तपाईंको बालबालिका किशोरावस्थामा पुगिसकेका भए, इन्टरनेटको लतमा नफस्न खबरदारी गर्नुहोस्। उनीहरुलाई इन्टरनेटको लत लागे कसरी समस्या उत्पन्न हुन्छ भन्ने पनि जानकारी दिनुहोस्। तपाईंले आफैं कुनै नियम या परम्परा बसाउन सक्नुहुन्छ, जसको कारण सबै डिजिटल ग्याजेट केही समयका लागि बन्द होस्। साथै बालबालिका सुत्न गइसकेपछि उसले चलाएका एपको हिस्ट्री नियमित परिक्षण गर्नुहोस्। जसकारण तपाईंका बालबालिका केमा रुचि राख्छन् वा के हेर्दैछन् भन्ने थाहा हुन्छ।

५. बालबालिकाका लागि रोल मोडल बन्नुहोस्
तपाईंले बालबालिकालाई मात्रै निगरानी गरेर हुँदैन। पहिले आफ्नै बानी सुधार्नुहोस्। उदाहरणका लागि, बेलुकी खाना खाइसकेपछि मोबाइल नचलाउनुहोस्। गाडी चलाउँदा फोन नउठाउनुहोस्। खाना खाँदा पनि मोबाइलमा घोप्टिरहने नगर्नुहोस्। घरमा आएका पाहुनासँग कुराकानी गरिरहँदा मोबाइल नचलाउनुहोस्। तपाईंका सानातिना क्रियाकलाप पनि बालबालिकाले याद गरिरहेका हुन्छन्। आफूलाई सिकाउने मानिसले गरिरहेका काम नै उनीहरु पनि पछ्याउँछन्। त्यसैले बालबालिकाका लागि पहिले आफैं रोल मोडल बन्नुहोस्। उनीहरु सधैं तपाइलाई पछ्याउन थाल्छन्। -नेपाललाइभबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer