२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पर्सिबाट पोखरामा


बिर्तामोड, साउन २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरामा प्रशिक्षण गर्ने भएको छ । साउन २७ गते बुधबारबाट प्रशिक्षण सुरु हुनेछ ।

पोखरामा ३८ सदस्यीय टोलीले दुई साता प्रशिक्षण गर्ने एन्फाले जनाएको छ । यसअघि काठमाडौँमा झन्डै एक महिना प्रशिक्षण गरेपछि टोलीलाई १० दिनको विश्राम दिइएको थियो ।

टोलीमा केही परिवर्तन गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पोखरामा प्रशिक्षण सुरु गर्ने छन् । उनले ५० सदस्यीय प्रारम्भिक टोलीबाट १४ खेलाडीलाई बाहिर राख्दै ३६ खेलाडीलाई दोस्रो चरणमा समेटेका थिए ।

तर, पोखरामा हुने प्रशिक्षणमा भने गोलरक्षक विशाल सुनार, मिडफिल्डर सेसेहाङ आङदेम्बे र विंगर शिशिर लेखिलाई पुनः टोलीमा समावेश गरिएको छ । एरिक विष्ट र प्रकाश बुढाथोकी भने पोखराको प्रशिक्षण क्याम्पमा सहभागी नहुने एन्फाले जनाएको छ ।

यसअघि टोलीको नामावलीमा नरहेका विक्रम लामालाई पनि छनोटमा समावेश गरिएको छ । उनी कतारमा शल्यक्रिया गराएर नेपाल आएपछि म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका थिए । टोलीको प्रशिक्षण र आन्तरिक मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेपछि उनी छनोटका लागि योग्य भएका हुन् ।

अब छनोटमा ६ गोलरक्षकका रुपमा कप्तान किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार र अर्पण कार्की रहनेछन् । त्यस्तै फरवार्ड आशिष लामा, अभिषेक रिजाल, भरत खवास, मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, अन्जन विष्ट, सन्जोग राई र सुनिल बल पनि टोलीमा छन् ।

डिफेन्डर अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रणदिप पौडेल, रञ्जीत धिमाल, रोहित चन्द र सुमन अर्याल टोलीमा अटाएका छन् । एन्फाले वेबसाइटमा राखेको सूचीमा राजनको नाम नभए पनि उनी टोलीसँग पोखरामा जानेछन् । यसअघि जर्जप्रिन्सको नाम छुटे पनि एन्फाले पछि उनको नाम थपेको थियो ।

मिडफिल्डमा नितिन थापा, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, शिशिर लेखप्, आयुष घलान, विशाल राई, विक्रम लामा, कमल थापा, राजीव लोप्चन, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेका छन् ।

यसअघि प्रारम्भिक छनोटबाट डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का तथा मिडफिल्डर डोना थापा, मिक्छेन तामाङ र रवि पासवान बाहिरिएका थिए । फरवार्ड दर्शन गुरुङ, प्रेजेन तामाङ र सुदिल राई पनि दोस्रो चरणमा बढ्न सकेनन् ।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दशरथ रंगशालामा १७ र २० भदौमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । नेपालले भारतबाट नै प्रस्ताव आएको कारण खेल पक्का भइसकेको बताइरहँदा भारतले भने खेल हुनेबारे अन्तिम निर्णय बाँकी रहेको बताएको छ । त्यस्तै बंगलादेशले पनि मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer