२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

नेपाल र भारतबीच बराबरी


तस्वीरहरु: एन्फा

बिर्तामोड, भदौ १७ । पहिला हाफ अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ ।

बिहीबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

खेलको ६० औँ मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।

त्यसअघि अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको भारतले दोस्रो हाफमा नेपाललाई दबाब बढाउँदै गोल गर्न सफल भएको थियो । भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए ।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ।

Adv footer