बिर्तामोड, भदौ २५ । भारत र इंग्ल्यान्डबीचको पाँचौँ तथा अन्तिम टेस्ट खेल कोरोनाका कारण रद्द भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर, भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्द हुन पुगेको हो ।
भारतीय सबै खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन १० दिन मात्र बाँकी हुँदा मिति सरेको खण्डमा प्रभावित हुने हुँदा पाँचौँ टेस्ट रद्द नै हुन पुगेको हो । भारतीय कोचिङ स्टाफमा कोरोना देखिएपछि भारतीय टोली मदान उत्रन अयोग्य मानिएको थियो ।
दुबै क्रिकेट बोर्डको सहमतीमा पाँचौँ टेस्ट रद्द भएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । पाँचौँ टेस्ट रद्द भएसँगै पाँच खेलको सिरिज भारतले २–१ ले जितेको छ । भारतले चौथो टेस्ट खेलमा द ओभलमा सन् १९७१ पछि इंग्ल्यान्डलाई १५७ रनले पराजित गरेको थियो । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
दोस्रो खेलमा भारत १५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । अब भारतीय खेलाडी आइपिएलको लागि युएई जाने छन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म चल्नेछ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्नेछ ।