२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

संघको पहलमा बिर्तामोडका व्यवसायीलाई खोप लगाइने


बिर्तामोड, भदौ २९ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसँगै हुने भीडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

संघको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको व्यस्त सहरको रुपमा रहेको बिर्तामोडका व्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ ।

खोप लगाउनका लागि आर्थिक वर्ष २०७७–०७८ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचयपत्र र पानको फोटोकपि लिएर आएमा संघको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको संघका प्रवक्ता सञ्जीव घिमिरेले बताए । उनले खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइने जानकारी दिए ।

पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइनेछ । संघका सदस्य तथा नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव जीवनकुमार खड्काका अनुसार कसैले अगाडि नै खोप लगाएको र दोस्रो डोजका लागि आए पाउने छैनन् । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाउन पाउने उनले जानकारी दिए ।

खोप बिर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीले लगाइदिने जनाइएको छ । कोरोनाको संक्रमणका कारण लामो समय व्यवसाय बन्द हुँदा समस्यामा परेको भन्दै यसअघि संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग समेत गरेको थियो । संघको कार्यालयमा लगाइने खोप कार्यक्रममा आँउदा भौतिक दूरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह समेत गरिएको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारसँग पटकपटक खोप लगाइनदिन आग्रह गरे पनि व्यवसायीलाई सरकारले प्राथमिकता नदिएपछि बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा व्यवसायीहरुलाई खोप लगाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer