
बिर्तामोड, कात्तिक ५ । कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले हराउँदै कनकाईले सुखद सुरुआत गरेको हो ।
कनकाईको जितमा कुसुम खतिवडाले ६ गोल गरिन् । कप्तान लक्ष्मी श्रेष्ठले ४ गोल गरिन् । मनिका तुम्रुक र इमा राईले एक एक गोल गरिन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
त्यस्तै, प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् ।