२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित


बिर्तामोड, कात्तिक ७ । ओपनर बाबर आजम र मोहम्मद रिजवानको कीर्तिमानी साझेदारीको सहयोगमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । पाकिस्तानले भारतलाई कुनै पनि विश्वकपमा पहिलोपटक पराजित गरेको हो ।

जितको लागि १५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्कासहित ६८ रनमा अविजित रहे । अर्का ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे ।

रिजवानले जस्प्रित बुमराहलाई चौका प्रहार गर्दै ४१ बलमा अर्धशतक पूरा गरेका थिए । बाबरले स्पिनर बरुण चक्रवर्तीलाई छक्का प्रहार गर्दै ४० बलमा अर्धशतक पूरा गरेका थिए । बाबर र रिजवानले टि२० विश्वकपमा नयाँ कीर्तिमान पनि बनाएका छन् ।

पहिलो विकेटका लागि यो विश्वकपमा भएको उच्च साझेदारी हो । यसअघि सन् २००७ को विश्वकपमा मा क्रिस गेल र डेवन स्मिथले १ सय ४५ रनको साझेदारी गरेका थिए

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कोहलीले ४५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । टि२० विश्वकपमा कोहलीको यो १० औँ अर्धशतक हो । कोहलीको टि२० आई करिअरको २९ औँ अर्धशतक हो ।

तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको चौथो बलमा ओपनर रोहित शर्मालाई शून्यमा एलबिडब्लु आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । रोहित आफूले सामना गरेको पहिलो बलमै अर्थात गोल्डेन डक आउट भएका थिए । अफ्रिदीले नै तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर लोकेश राहुललाई ३ रनमा बोल्ड आउट गरेपछि पाकिस्तानले सानदार सुरुवात गरेको थियो ।

अर्का तीव्र गतिका बलर हसन अलीले छैटौँ ओभरको चौथो बलमा सूर्यकुमार यादवलाई मोहम्मद रिजवानबाट ११ रनमा क्याच आउट भएपछि भारत ३१–३ को कमजोर अवस्थामा पुगेको थियो । सूर्य एज लागेर आउट हुन पुगेका थिए । खराब सुरुवात गरेको भारतलाई चौथो विकेटका लागि ऋषभ पन्त र विराट कोहलीले ४० बलमा ५३ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाएका थिए ।

स्पिनर शादब खानले १३ औं ओभरको दोस्रो बलमा पन्तलाई ३९ रनमा कट एन्ड बोल्ड आउट गर्दै साझेदारी तोडे । ठुलो सट खेलेका पन्त टप एज लागेर कट एन्ड बोल्ड आउट भएका थिए । पन्तले ३० बलमा २ चौका र २ छक्का प्रहार गरे । रविन्द्र जडेजाले १३ बलमा १ चौका सहित १३ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ८ बलमा २ चौकासहित १२ रनमा आउट भए । अफ्रिदीको बलमा कोहली रिजवानबाट क्याच आउट हुन पुगेका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिए । हसन अलीले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । हरिस रौफ र शादब खानले १–१ विकेट लिए ।

यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो । भारत ५ खेलमा नै विजयी भएको छ । सन् २००७ को समूह चरणमा भारत खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा विजयी भएको थियो । उक्त फाइनलमा ५ रनले हराउँदै उपाधि जितेको थियो । भारत २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

पाकिस्तानले आफ्नो दोस्रो खेलमा मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ । भारतले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer