बिर्तामोड, कात्तिक १४ । झापा भेट्रान्स फुटबल क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २–० गोल अन्तरले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।
झापाका लागि भेषबहादुर लिम्बू र श्यामकुमार गोलले गोल गरे । लिम्बूले खेलको ४६औँ मिनेटमा प्रवेश कटवालको कर्नरमा हेड गर्दै गोल गरेका थिए भने गोलेले एकल प्रयासमा उत्कृष्ट रन बनाएर सानदार गोल गरेका थिए ।
अब झापाले उपाधिका लागि खुमलटार भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा एसएनकेसीलाई २–० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनल पुगेको हो । फाइनल कात्तिक १६ गते हुनेछ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।