२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ऐतिहासिक पदकधारी बक्सर नरिका राई


बिर्तामोड, कात्तिक २१ । महिला बक्सिङलाई विश्वस्तरको प्रतियोगितामा सहभागी गराइएको एक दशक मात्र पुग्न लाग्दैछ । त्यसैले पनि महिला बक्सिङ खेलाडीहरु बामे सर्दैछन् । नेपाली महिला बक्सरहरु पनि त्यही अनुरुप अगाडि बढिरहेका छन् ।

अघिल्लो महिना नेपालका लागि बक्सिङमा ऐतिहासिक क्षण बन्न पुग्यो । जुनियर तथा युथ विधामा नेपालले इतिहासमै पहिलोपटक एसियन स्तरको पदक प्राप्त गर्यो । इतिहास रचेकी थिइन्, झापा भद्रपुरकी नरिका राईले । १७ वर्षीया राईले संयुक्त राज्य इमिरेट्सको दुबईमा भएको एएसबिसी एसियन युथ एनड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।

अगस्ट २० देखि ३१ तारिखसम्म भएको सो प्रतियोगितामा उनले ५७ केजी समूहमा भारतीय खेलाडीसँग हार व्यहोर्नु परेको थियो । राईले पदकसँगै एक हजार ५०० अमेरिकी डलर नगद पुरस्कार पनि पाइन् ।

१४ वर्षको उमेरबाट बक्सिङमा प्रवेश गरेकी राईलाई छोटो समयमै ऐतिहासिक सफलता मिल्यो । खेलप्रति आत्मविश्वास र कडा परिश्रममा विश्वास गर्ने उनले प्रशिक्षण गरेको दुई महिनामै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । २०७६ कात्तिकमा भएको पुरुष तथा महिला खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा राईले अन्डर १९ समूहमा ५१ केजीमा स्वर्ण जितेर बक्सिङमा आफूलाई अब्बल ठहर्याइन् ।

बुवा र आमा नै खेलकुद पृष्ठभूमिका भएकाले उनलाई बक्सिङमा उत्साह मिल्यो । आमा रिना धिमाल राष्ट्रिय जुडो खेलाडी हुन् भने बुवा नरेशकुमार राई फुटबल खेलाडी थिए । आमाबुवाको प्रेरणा र साथीहरुको संगतले उनी बक्सिङ कोर्टसम्म पुगिन् । त्यसमाथि मेहनती गुरु डम्बर लिम्बूको साथ पाएपछि राईले आफूलाई निखार्दै लगिन् ।

बक्सिङमा जान्छु भन्ने उनलाई रहर चाहिँ थियो तर तालिम सुरु भएको थिएन । घरनजिकै ट्रेनिङ नि हुन्थ्यो, नरिकाले इच्छा देखाएपछि र आमा रिनाले डम्बर गुरुको जिम्मा लगाइदिइन् । त्यसपछि उनको व्यावसायिक बक्सिङ करियर सुरु भयो । र, हाल आएर जुनियर लेबलमा नेपालकै नम्बर १ महिला बक्सर बन्न पुगिन् ।

उनी एसियन स्तरमा खेल्न जाँदा नेपालबाट छनोट चरण पार गरेर गएकी थिइन् । तालिम सुरु गरेको अढाइ वर्षमै ऐतिहासिक पदकको भागीदार बन्न पुगिन् । यसले उनीमाथि चुनौती थपिएको महसुस भएको छ । विभागीय क्लबहरुबाट अफर आइरहेको छ ।

बक्सिङसँगै उनी एथ्लेटिक्समा पनि अब्बल छिन् । बैशाखको पहिलो साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उनी ४०० मिटर, ४×४०० मिटर रिले र ४×१०० मिटर दौडमा झापा प्रथम भइन् । तर, उनी आफू बक्सिङमै भविष्य खोजिरहेको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer