बिर्तामोड, कात्तिक २३ । उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कनकाई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
सोमबारदेखि सुरु भएको नकआउट चरणअन्तर्गत पहिलो खेलमा कनकाईले सुनकोसी गाउँपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । कनकाईले टाइब्रेकरमा ३–१ को जित दर्ता गरेको हो ।
त्यस्तै, दिनको अर्को खेलमा रोङ गाउँपालिकाले तुलसीपुर उपमहानगरपालिका दाङलाई ४–१ ले हरायो । रोङको जितमा मिडफिल्डर इन्दिरा राईले ह्याट्रिक प्रहार गरिन् । अर्को गोल कप्तान अनिता राईको नाममा रह्यो । तुलसीपुरका लागि ममता पुन मगरले ७६ औँ मिनेटमा सान्त्वना गोल गरेकी थिइन् ।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
त्यस्तै, प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।